जसपाको कारबाहीमा परेका यादव एमालेमा प्रवेश !

नेपालगन्ज 

जनता समाजवादी पार्टी(जसपा)को कारबाहीमा परेका विजय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । बाँकेको खजुरामा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथी समेत रहेका एमालेका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवालीले उनलाई प्रवेश गराएका हुन् ।

यादवलाई जसपाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । डा. अरुण कोइराला कांग्रेस बाँकेको सभापति हुँदा यादव कांग्रेस बाँकेको सचिव थिए । तत्कालिन समयमा सुशिल कोइराला पार्टीको केन्द्रिय सभापति र प्रधानमन्त्री हुँदा बाँकेमा आउने हरेक बजेट यिनै यादवले चलाउने गरेका थिए ।

त्यस क्रममा कांग्रेस बाँकेको कार्यालय रहेको विपी स्मृती भवनको माथिल्लो तल्ला निर्माण गर्ने क्रममा यादवमाथी आर्थिक अनियमितता गरेको आरोप समेत लागेको थियो । आर्थिक अनियमितताका कारण उक्त भवनको माथिल्लो तला बर्षौसम्म अधुरो बन्न पुगेको थियो ।

त्यसपछि कांग्रेस छाडेर तत्कालिन संघिय समाजवादी फोरममा प्रवेश गरेका उनी २०७४ सालमा प्रदेश सभा-२ ‘क’ बाँकेबाट लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित भएका थिए । जनता समाजवादी पार्टी(जसपा) को सांसदमा रहँदा पार्टीको नीति विपरित तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको मन्त्री मण्डलमा कृषी मन्त्री बनेपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।

त्यसयता कुनैपनि पार्टीमा आवद्ध नरहेका यादवले गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट बाँकेको डुडुवा गाउँपालिकामा आफ्नी धर्मपत्नीलाई अध्यक्ष पदको उम्मेदवार बनाएका थिए । यादव मंगलबार विधिवत रुपमा एमालेमा प्रवेश गरे । उनी प्रवेश भएपछि एमाले भित्रै रहेका कतिपय नेता, कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।

वर्षौदेखी पार्टीमा योगदान गरेका नेता, कार्यकर्ताको अबमुल्यन गरेर अवसरवादी ब्यक्तिलाई पार्टीमा प्रवेश गराएको भन्दै उनीहरु असन्तुष्ट देखिएका हुन् । यादव आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि एमालेबाट टिकट फुत्काउने दाउमा छन् ।