यता बर्दिया जिल्लामा फाल्गुण सातको १७ जनाले निकालेको पञ्चायत बिरोधी जुलुश नै बर्दिया जिल्लाको लागि आन्दोलनको अन्तिम र पहिलो जुलुश भएछ । तर बिजय जुलुश भने धेरै ठाउँमा भयो । चैत्र २६, २०४६ मा तत्कालिन नेपाली काँग्रेस र सँयुक्त बाममोर्चा संग श्री ५ बिरेन्द्रले सम्झौता गरी नेपालमा बहुदलिय प्रजातन्त्रीक ब्यवस्थाको स्थापनाको लागि धोका खोलिदिनु भयो ।
वहाँलाई त्यतिबेलै देखि कट्टर पञ्चायत समर्थकहरुले आँखाको कसिङ्गर मानेका थिए । बेला बेलामा उनीहरुले प्रतिगमनका प्रयासहरु नगरेका पनि होईनन् । मलाई लाग्छ माओवादी हिंसात्मक आन्दोलनको शुरुवात पनि यहि प्रतिगमनको एक पाटो हुनुपर्छ । यस्मा मलजल हाल्ने काम त बहुदलिय ब्यवस्थाका पक्षधरहरुको स्वार्थपुर्ण राजनितिले पनि गरेकै हो । राम्रा भन्दा आफ्ना मान्छेको रोजाई हुन थाल्यो ।
संघर्षबाट आएकाहरुलाई पञ्छाईन थालियो । भ्रष्टाचार कुर्सी मुनिबाट उठेर टेबुल माथि उक्लियो । नेताहरु आफ्नो क्षेत्र बलियो बनाउनमै ब्यस्त भए । बिकासको गति नबढेको त होईन बहुदलिय ब्यवस्थामा तर त्यो भन्दा बढी भ्रष्टाचार र नातावाद कृपावादले फढ्को मारेको हुनाले प्रतिगमनको लागि ठाउँ उपलब्ध गरायो भन्ने मलाई लाग्छ । उता दरबारियाहरु पनि सायद राजा महेन्द्रले जस्तै गर्न सकिन्छ कि भन्ने ध्याउन्नमा थिए होलान् ।

बहुदलिय पञ्चायतको अन्त र बहुदलिय ब्यवस्थाको शुरुवात त भयो । नेपालमा संबिधान बनाउन स्व. कृष्ण प्रसादको नेतृत्वमा रहेको अन्तरिम सरकारले सफलता पाएकै हो । सँयुक्त बाममोर्चामा रहेका दलहरु मध्य माले सबैभन्दा बढी शक्तिशाली भएर निस्किएको थियो । उनीहरुले देशब्यापी आन्दोलन अद्यापी चलाई नै रहेका थिए । संबिधानको आलोचनात्मक समर्थनको नाममा संगठन बिस्तार पनि गरीरहेकै थिए । बर्दिया जिल्लामा पनि उनीहरुले तत्काललिन मालेका केन्द्रिय सदस्य बामदेव गौतमको नेतृत्वमा एग्रेसिभ भएर संगठनको बिस्तार गर्दै थिए । ठाउँठाउँमा काँग्रेसीहरुलाई तर्साउने काम पनि भएकै थियो ।
कति काँग्रेसी कार्यकर्ताहरु हारगुहार र सुरक्षा माग्न नेकाँको जिल्ला नेतृत्वसंग आउँथे तर नेतृत्वहरुले नेपाली काँग्रेस मूलभूत रुपमा शान्तिप्रिय दल हो । सहेर बस्नुहोस भन्दै पठाउँदै गर्थिए । त्यतिबेला म नेबिसंघको जिल्ला कोषाध्यक्ष भै सकेको थिएँ । मुक्ति प्रसाद रेग्मी उपाध्यक्ष, सुभाष कुमार पोखरेल जिल्ला सचिव थिए भने युवराज पौडेल जिल्ला अध्यक्ष थिए । हामीहरुले अब बर्दियाको नेबिसंघको संगठन बिस्तार गर्न तर्फ ध्यान दियौं लगभग सबै गाबिसहरु, बिद्यालयहरुमा हामीले नेबिसंघको संगठन बिस्तार गर्न सफलता हासिल गर्यौँ । तर काँग्रेसको नेतृत्वहरु भने पर्ख र हेरको नितिमा अलमलिएका थिए ।
उनीहरुमा सायद बहुदलिय ब्यस्थाको पुनस्र्थापना भएर संबिधान बन्नु भन्दा पहिले नै प्रतिगमनको शिकार हुन्छ कि भन्ने लागेको थियो । निस्क्रिय प्रायः बसेको । फेरी नेकाँका नेतृत्वहरु बृद्ध पनि हुनुहुन्थ्यो । शुरेश राज शर्मा जी अलिक जुर्मुराउनु भएको थियो तर वहाँलाई क्यान्सर भएकोले जथाभावी हिँड्न नहुने । ज्ञान राज शर्मा तत्काल जिल्ला सचिब हुनुहुन्थ्यो र वहाँ अलि दवङ्ग प्रकृतिको पनि हुनुहुन्थ्यो । पुर्णकुमार उपाध्याय (लल्लु बावु) उपाध्यक्ष र प्रेशरबाट पिडित हुनुहुन्थ्यो भने बासु बावु (बासुदेव शर्मा) कोषाध्यक्ष भए तापनि संगठनको लागि हिँड्न नसक्ने, वहाँ गठिया (हातखुट्टाको गोली गाँठा दुख्ने) बाट ग्रसित ।
बहुदलिय प्रजातन्त्रको बलियो आधार संबिधानको निर्माण हुनुभन्दा पहिले नै शुरेश राज शर्मा जीको त्यही क्यान्सरको कारणले दिवंगत भयो र लल्लु बावुले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भयो । लल्लु बावुमा त्यती साह्रो एग्रेसिभ भएर संगठन गर्ने सक्रियता हुने भएन । हामी दिनहु वहाँहरुसंग पार्टीको पनि संगठन बिस्तार गर्न कराउने भयौं । एक दुई ठाउँमा त हामी बिद्यार्थिहरुले नै नेपाली काँग्रेसको गाउँ समिति गठन गरीदियौँ । यसको लागि जिल्ला नेतृत्वहरुबाट खप्की पनि खायौँ, तर वहाँहरुले त्यो समितिलाई मान्यता भने दिनु भयो ।
सायद वहाँहरु २०३६ सालमा बर्दिया जिल्लामा जनमत संग्रह हुँदा बहुदल पक्षको बिजय भएकोले नेपाली काँग्रेस ले नै निर्वाचन जित्ने कुरामा ढुक्क भयर होला संगठनको बिस्तारमा त्यति बढी ध्यान नदिनु भएको । गाउँ गाउँमा भने काँग्रेसका शुभचिन्तकहरु र समर्थकहरुले भने काँग्रेसको समति गठन छिटो भन्दा छिटो होस भन्ने चाहनुहुन्थ्यो ।
राजा बिरेन्द्रले बहुदलिय ब्यवस्था स्विकार गर्नु र कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा सफलतापुर्वक संबिधान निर्माण भएपछी २०४८ सालको पन्ध्र सालको निर्वाचन पछी दोस्रो पटक दलगत राजनितिक ब्यवस्थाको निर्बाचन हुने भयो । सन्त प्रबृत्तिका कृष्ण प्रसाद भट्टराईले यसमा पनि सफलता हात पार्ने निश्चित नै थियो । उता देशब्यापी माले एग्रेसिभ भएर संगठन बिस्तार गर्दै थिए ।
बर्दियामा पनि उनीहरुको संगठन सबै गाउँहरुमा बनिसकेको थियो । २०४८ सालको निर्बाचन हुने पक्का भएपछी बासु बावु र ज्ञानराज शर्मा जुर्मुराउनु भयो र नेपाली काँग्रेसको संगठन गर्न कस्सियर लाग्नु भयो । उता माले र माक्र्सवादी मिलेर एमाले निर्माण गरीसकेकोले उनीहरु बलियो भएर बर्दियामा उदय भएका थिए । काँग्रेसीहरुको मोरल डाउन गर्न कुनै पनि हठकण्डा अपनाउने । साम, दाम, दण्ड, भेद सबै अपनाउने भय । हामी बिद्यार्थिहरुले गर्ने गरेका साँस्कृतिक कार्यक्रम बिथोल्न मञ्चमा नै आक्रमण गर्न समेत पछी नपर्ने । नेबिसंघको साँस्कृतिक कार्यक्रमले एमालेलाई तर्साएको थियो ।
एमालेको पकड राम्रो भएको गाउँ ठाउँमा नेबिसंघले एमालेका कार्यकर्ताहरुसंग भिडेर नै कार्यक्रमहरु गर्नुपरेको थियो । कालिकामा म आफैले नेतृत्व गरेको साँस्कृतिक कार्यक्रम बिथोल्न आक्रमण भए । साना साना भाईबहिनीहरु डरले रुन कराउन थाले । त्यहाँ भएका काँग्रेस समर्थकहरु कमजोर पर्नु भएको थियो । तर त्यहाँका नेत्र बहादुर रानाभाँट, टुकराज दाई, गम्भिर रानाभाँट, शान्ति अधिकारी, गौरी सापकोटा, गिताञ्जली शर्मा लगायत थुप्रै भाई बहिनीहरु र वहाँका साथिहरु तथा अभिभावकहरुको हिम्मत र साहसका कारण भिडेर भएपनि त्यो कार्यक्रम हामीले अबेर राती ढीलै भएपनि सफल बनाएर छाड्यौँ ।
यस्तै मैले नै नेतृत्व गरेको अर्को साँस्कृतिक कार्यक्रम थियो बाँसगढीमा जहाँको कार्यक्रम एमालेका तत्कालिन स्थानिय नेता श्याम ढकाल जी (जो पछी बामदेव गौतम जी ले त्यो क्षेत्रमा जितेर राजीनामा गरेपछी साँसद पनि हुनुभएको थियो) को नेतृत्वमा ठुलै रडाको मच्चाए । ढुङ्गा, लट्ठी समेत घातक हथियार समेत लियर आक्रमण गर्न आउनु भएको थियो । त्यहाँ नेबिसंघका साथिहरु जीवनाथ पौडेल, बलिराम चौधरी, गंगु भन्ने गंगाधर पौडेल, तीलक जी, र काँग्रेसका समर्थक र स्थानिय नेता सोडे बिष्ट जी, भरत बहादुर सापकोटा… अरु धेरै साथिहरु पनि कम्ति थिएनन् । दोहोरो भिडन्त नै भयो दोहोरो ढुङ्गामुढा नै भयो ।
हाम्रा धेरै साथिहरु एउटा घरको पछाडी ओत लिएर आक्रमण गर्दै थिए भने एमालेका कार्यकर्ताहरु भने तत्कालिन महेन्द्र राजमार्गबाट । म राजमार्गको छेउमा तल परेँ र एक्कासी मेरो शिरमाथिबाट सयौँ ढुङ्गाहरु आरपार भए । म भने एउटा कपडा राखेको बगलीमा भिर्ने झोला थियो त्यही शिरमा राखेर टाउको बचाउने कोशिसमा थिएँ । भाग्यले साथ दिएर हो कि के हो नजिकै एउटा लडिया (गोरुगाडा) राखिएको थियो, त्यसैको तल गयर आश्रय लिएर आफ्नो ज्यान जोगाएँ ।
त्यहीँ नेर ईलाका प्रहरी कार्यालय पनि थियो जसले यो भिडन्तलाई रोक्ने भरमग्दुर प्रयास गर्नु भए पनि नरोकिने । हारकायल भएर प्रहरीहरुले बाह्र राउण्ड हवाई फायर नै गर्नु भयो र भिडन्त शान्त भयो । यो दिनको झझल्को आउँदा अझै पनि के लाग्छ भने नेपाली काँग्रेसमा शान्तिप्रिय कार्यकर्ताहरु भए पनि आईपर्दा आक्रमणको जवाफ आक्रमणले दिन पनि पछी नपर्ने कार्यकर्ताहरु पनि छन् ।
एमालेको आक्रमण ठाउँ ठाउँमा भैरहेकै थियो । एमालेका तत्कालिन केन्द्रिय सदस्य बामदेव गौतम जी भने युवा नै थिए त्यतिबेला । उनीले बर्दियामा बामपन्थीहरुको नेतृत्व लिनु भएको थियो र आफ्ना कार्यकर्ताहरुको पुर्ण संरक्षण गर्न पछी नहट्ने । यता काँग्रेसमा बिना माउको बाच्छा बाच्छी जस्तै भएर शुभचिन्तकहरु दिनहु हारगुहार लाउन आउने । हामी बिद्यार्थिहरुले भिड्ने कुरा गर्दा जिल्ला नेतृत्वहरुले हामीलाई रोक्ने भए, नेपाली काँग्रेसको अहिंसाको सिद्धान्तलाई अगाडी सार्दै । त्यही बेला सर्बमान्य नेता गणेशमान सिंह जी बर्दियामा सार्वजनिक कार्यक्रम गर्न आउनु भयो । वहाँ किशोर गौतम जी (किशोर बावु) को घरमा बस्नु भएको थियो ।
२०४८ बैशाख महिनाको समय थियो । हामि बिद्यार्थिहरु वहाँसंग नेपाली काँग्रेसको शान्तिवादी निति भनेको के हो भनेर बुझ्न चाहन्थ्यौँ । त्यसैले म लगायत गाउँका थुप्रै पिडित बिद्यार्थिहरु र केही काँग्रेसीजनहरु वहाँसंग साँझ पख किशोर गौतम जी को घरमा भेट्न गयौँ । वहाँ छतमा एउटा खाटमा आराम गर्दै हुनुहुन्थ्यो । हामीले वहाँलाई पहिलो पटक प्रत्यक्ष देख्न पाईरहेका थियौँ । वहाँ जेलबाट भागेको कथा र अन्य रोचक र साहसिक कथाहरु सुनेर र पढेर मात्रै थाहा पाउँथ्यौ । मलाई लाग्थ्यो वहाँ निकै भयानक र शक्तीशाली हुनुहुन्छ भन्ने । तर वहाँ त एउटा निकै साधारण, मृदुभाषी र अनुहारमा प्रकाशमय ज्वाला झल्केको जस्तो देखे ।
हस्यौलीमा पनि निपुर्ण हुनुहुन्थ्यो । साधारण सादा खाना खाने र बिचार भने स्पष्ट र अडिग थियो वहाँमा । अहिलेका नेताहरु जस्तो पदको लागि जे जस्तो पनि सम्झौता गर्ने जस्तो थियन । हुन पनि वहाँले २०४६ सालको जनआन्दोलनको सफलता पछी वहाँलाई राजा वीरेन्द्रले प्रस्ताव गरेको प्रधानपन्त्रीको पद त्याग गर्दै स्व. श्री कृष्ण प्रसाद भट्टराईलाई अगाडी सारेको सर्वबिदितै छ । त्यसैले होला वहाँको नेतृत्वमा २०४६ सालको जनआन्दोलनले सफलता पाएको । पछी वहाँसंग जे ब्यवहार भयो त्यो सबैलाई थाहै छ, यो तत्कालिन नेतृत्वको पक्कै पनि अकर्मण्यता थियो ।
हामीले गणेशमान जी संग हाम्रो समस्याहरुको बेलीबिस्तार लाउँदै एमालेको आक्रमणको कुरा राख्दै नेपाली काँग्रेसको शान्तीवादी निति भनेको कस्तो हो र के हो भन्ने प्रश्न राख्यौँ । वहाँले हामीहरुलाई बडो रोचक तरीकाले नारदमुनि ऋषि र गोमन सर्पको कथा सुनाउनु भयो जुन् अर्को एपीसोडमा राख्ने छु । त्यसपछी त काँग्रेसीहरुले गाउँगाउँमा एमालेलाई कडा चुनौती दिन पछी नपर्ने भय । क्रमशः
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्