रोटरी क्लब अफ सेन्ट्रल बाँकेद्वारा वागेश्वरी बहुमुखी क्याम्पसमा वृक्षारोपण सम्पन्न




बाँके, श्रावण ११, २०८३।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजनामा “रोटरी वृक्षारोपण सप्ताह–२०२६” अन्तर्गत बाँकेको कोहलपुर–११ स्थित मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पस प्रमुख दानबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले कपुरसहित विभिन्न प्रजातिका ५० वटा बिरुवा रोपिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रोटेरियन ईश्वरीजङ्ग मल्लले सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले वागेश्वरी बहुमुखी क्याम्पस पश्चिम नेपालको महत्वपूर्ण सरकारी शैक्षिक संस्था भएकाले यस अभियानका लागि छनोट गरिएको बताए। साथै, आगामी दिनमा क्याम्पससँग सहकार्य गर्दै शिक्षा, वातावरण तथा सामाजिक सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा क्याम्पस प्रमुख दान बहादुर हमालले रोटरी क्लब लाई धन्यवाद दिदै आगामी दिनमा क्याम्पससंग सहकार्य गर्न र सामाजिक उत्तरदायित्वका कार्यहरू गर्नु अनुरोध गरे ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष रोटेरियन गंगाराम चौलागाईं, सचिव रोटेरियन उदयचन्द्र पौडेल, उपाध्यक्ष एवं कोहलपुर क्षेत्रीय परियोजना संयोजक रोटेरियन अशोकप्रसाद पोख्रेल, क्लब प्रशासन प्रमुख रोटेरियन मोहबीर खड्का, वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरका अध्यक्ष एकराज शर्मा, उपप्राध्यापक डा. पुष्करनाथ रिजाल, प्रशासकीय अधिकृत वेदराज लम्साल, क्याम्पसका प्राध्यापकहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा बोल्दै कोहलपुर क्षेत्रीय परियोजना संयोजक रोटेरियन अशोकप्रसाद पोख्रेलले वृक्षारोपणले वातावरण संरक्षणसँगै स्थानीय समुदायलाई दीर्घकालीन रूपमा प्रत्यक्ष लाभ पुग्ने बताए। उनले वातावरण संरक्षण एकदिने अभियान नभई भावी पुस्ताप्रतिको साझा दायित्व भएको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।


क्याम्पस प्रमुख दानबहादुर हमालले आजको वृक्षारोपण अभियान केवल बिरुवा रोप्ने कार्यक्रम मात्र नभई भावी पुस्ताका लागि हरियाली, स्वच्छ वातावरण र दिगो भविष्य निर्माण गर्ने अभियान भएको बताए। उनले रोटरी डिस्ट्रिक्ट ३२९२ को “District-Wide 100,000 Tree Plantation Campaign” अन्तर्गत वागेश्वरी बहुमुखी क्याम्पस छनोट हुनु गौरवको विषय भएको उल्लेख गरे।


यसै अवसरमा रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रोटेरियन ईश्वरीजङ्ग मल्लले वागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत एक महिला विद्यार्थीलाई कृत्रिम हात (Prosthetic Limb) उपलब्ध गराउने घोषणा गरे। उक्त सहयोगले ती विद्यार्थीको शिक्षा, आत्मविश्वास तथा भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, निकट भविष्यमा क्याम्पसका विद्यार्थीहरूका लागि एकदिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पनि जनाइएको छ। साथै उनले कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयसंग पनि आगामी दिनमा सहकार्य गरि अगाडि बढ्ने प्रतिवद्द्ता व्यक्त गरे ।


रोटरीको वातावरण संरक्षणसम्बन्धी दीर्घकालीन प्राथमिकतासँग मेल खाने यस अभियानले हरियाली विस्तार, वातावरणीय संरक्षण तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका सहभागीहरूले “आज रुख रोपौँ, भोलिको भविष्य जोगाऔँ” भन्ने सन्देशलाई आत्मसात गर्दै वातावरण संरक्षण र हरियाली विस्तारका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार