काठमाडौं । सिरहामा गोली प्रहार गरेर लागुऔषधसहित पक्राउ गरिएका ६ जनामध्ये एक जना व्यक्ति हत्या मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय पाएका फरार कैदी रहेको खुलेको छ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले बिहीबार सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटल चोकबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा कारबाही गर्दै ६ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा भारतका २२ वर्षीय विद्यानन्द यादव, सप्तरीको रुपनी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद नसिर, बादेबरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भुप्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मोहम्मद जमाहिर आलम, सोही स्थानका ३२ वर्षीय मोहम्मद इमामुदिन तथा बादेबरसाइन नगरपालिका–२ का २४ वर्षीय वैधनाथप्रसाद यादव रहेका छन्।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा आरोपितहरूले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि सुरुआतमा पाँच राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको जनाएको छ। गोली लागेर मोहम्मद नसिरको बायाँ खुट्टा र भारतीय नागरिक विद्यानन्द यादवको दायाँ खुट्टामा चोट लागेको छ। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
प्रहरीले पक्राउ परेकाहरूबाट २४३ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेका मोहम्मद नसिर सप्तरीमा भएको एक हत्या प्रकरणमा दोषी ठहर भई २५ वर्ष कैद सजाय पाएका व्यक्ति हुन्। उनी सुनसरीस्थित झुम्का कारागारमा सजाय भुक्तान गरिरहेका बेला फरार भएका थिए।
प्रहरीका अनुसार कारागारबाट फरार भएपछि नसिर लागुऔषध कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्