काेहलपुरमा सुत्केरी भत्ताले पशुपालनमा आकर्षण

डिल्ली शाही,

कोहलपुर कोहलपुर नगरपालिका वडा नम्बर १३ का गणेश बहादुर खड्काले गत वर्षदेखि गाई र भैसी पालन गर्छन् । कतारमा २ वर्ष बसेर नेपाल फर्केका उनले एउटा गाई र भैसीबाट व्यवसाय सुरु गरेका थिए ।

अहिले उनको पशुपालन व्यवसाय खुवै फस्टाएको छ । अहिले उनले आफ्नो व्यवसायको दायरा समेत फराकिलो बनाइसकेका छन् । उसो त पशुपालन गर्ने उनको सोच कतारमा हुँदा नै पलाएको थिएन । तर उनीसँग विदेशमा कमाएको धेरथोर पैसा भने थियो । त्यहाँबाट आएको केही समयपछि उनले कोहलपुर नगरपालिकाले किसानहरुको लागि नयाँ प्रकारको कार्यक्रम ल्याएको जाकारी पाए ।

कार्यक्रम थियो, पशु सुत्केरी भत्ता कार्यक्रम । पहिला सुन्दा उनलाई अचम्म लाग्यो ।‘ मलाई त्यो सूचनाले उत्प्रेरित ग¥यो । आँट गरे । त्यसपछि गाई भैसी पाल्न सुरु गरेको हुँ ।’ उनले भने । आफूले सरकारबाट भत्ता प्राप्त गर्नको लागि मात्रै पशुपालन नगरेको उनी बताउँछन् । उनका अनुसार आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ व्यवसाय सुरु गरिएको हो । उनको व्यवसायमा पशु सुत्केरी भत्ता कार्यक्रमले राहत मिल्यो । उनले कार्यक्रमको लागि नाम दर्ता गराए ।

केही महिनामा त उनले पशुको भत्ता प्राप्त गर्न थाले । त्यसपछि उनलाई भत्ता कार्यक्रमले काम गर्ने थप हौसला प्रदान ग¥यो । पहिलो पटक पशु सुत्केरी भत्ताको रकम बुझ्दा निकै खुसी भएको उनले बताए ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १३ कै किसान ईश्वर खड्काले पनि अहिले गाई पालन गरिरहेका छन् । स्थानीय सरकारले ल्याएको कार्यक्रmमका कारण आफू स्वरोजगार बनेको उनले बताए । उनी पनि लामो समय बैदेशिक रोजगारीमा बसेका व्यक्ति हुन् । पछि उनले परिवारको सहयोग र पशु शाखाको समन्वयमा गाई पाल्न सुरु गरे ।

अहिले उनको परिवार पशुपालनबाट चलेको छ । पशु सुत्केरी भत्ताका कारण गाईहरुलाई पालनपोषण गर्न सजिलो भएको छ । किसानलाई अझै निःशुल्क पशु बीमा सरकारले गरिदिए अझै प्रेरित हुने उनी बताउँछन् ।‘ सुत्केरी भत्ताले हामीलाई सहज भएको छ । पशुपालनमा राम्रो सम्भावना देखेको छु । अझै सरकारले सहयोग गरेको भए अघि बढ्न सकिन्थ्यो । ’ उनी भन्छन् । किसानहरु खड्काद्धय त प्रतिनिधि पात्र मात्र हुन् । कोहलपुरमा धेरै व्यवसायिक गाई फर्महरु फस्टाएका छन् अहिले ।

कोहलपुर नगरपालिका नगर पशु शाखाका प्रमुख गोविन्द बहादुर रोकायले किसानले प्रत्येक गाई र भैँसी सुत्केरी भएबापत दुई हजार प्राप्त गर्ने बताए ।‘यसमा किसानहरूको आकर्षण देखिएको छ । अहिले पशुपालन गर्नेहरुको संख्या बढ्दै गएको छ । यसले एकातिर पशुको सुरक्षा पनि गरेको छ र अनि रोजगारी समेत बढाएको छ ’ उनले भने ।

यस अघि शाखाले केन्द्रीय कार्यक्रमका रूपमा पशु तथा चौपायाको बीमा कार्यक्रम सञ्चालित थियो । कोहलपुर नगरपालिकाले भने नयाँ ढंगबाट पशुपालनमा किसानहरुलाई प्रेरित गर्नको लागि पशु सुत्केरी भत्ता कार्यक्रममा लागु गरेको हो । अहिले उक्त कार्यत्रम किसानहरूको आकर्षण बनेको छ । अहिले पशुपालन गर्नेहरु पनि बढेका छन् ।

सम्बन्धित शीर्षक