भेरी–बबईमा सुल्झियो मुआब्जा विवाद




राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरणअन्तर्गत हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम) सम्बन्धी काम सुरु भएको छ । यसका लागि चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९ सय १६ रुपैयाँमा सम्झौता गरिएको छ । हाइड्रोमेकानिकल इन्जिनियरिङको काम सुरु गर्न यो सम्झौता भएको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताए ।

अहिले आयोजनाको दोस्रो चरणअन्तर्गत सिभिलतर्फका काम भइरहेका छन् । सिभिलअन्तर्गत हेडवर्क्स, पावरहाउस (विद्युत् गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टको काम भइरहेको हो । लामो समय वर्षाका कारण बाँधस्थलमा जम्मा भएको पानी पम्पिङ विधिबाट बाहिर निकाल्ने काम पनि भइरहेको उनले जानकारी दिए । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम सुरु भइरहेको छ,’ उनले भने, ‘कामलाई जतिसक्दो छिटो सक्न एक दिन पनि नरोकी काम गरिरहेका छौं ।’

आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले कात्तिक महिनासम्म वित्तीय प्रगति ३८.२४ तथा भौतिक प्रगति ४९ प्रतिशत हासिल भएको जनाएको छ । सरकारले आयोजनाका लागि चालु आवमा पुँजीगततर्फ विनियोजन गरेको बजेट ३ खर्ब ४ करोड ६ लाख रुपैयाँमध्ये १० करोड ९१ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवाद पनि टुंगिएको छ । केही साताअघि बसेको संघीय मन्त्रिपरिषद् बैठकले अन्य आयोजनाका नजिरलाई आधार बनाई २२.८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेको आयोजनाका सूचना अधिकारी सुवेदीले बताए । यसअघि रैकर जग्गाको हकमा मात्र मुआब्जा पाउने निर्णयपछि आयोजना स्थलका बासिन्दा आन्दोलित थिए ।

सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको छ । उक्त ब्यारेज १ सय १४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमि २१० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका–११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ ।

आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/ ८० मा सक्ने कार्यादेश पाएको छ । त्यस्तै बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई करिब ८ सय मिटर डाइभर्सन गरिएको छ । #Kantipur

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ३ गते शनिबार