ढिस्कोमा पुरिएर माओवादी नेताको निधन

पाँचथर ।

पाँचथरको फिदिममा घर निर्माण गर्न शिलान्यास गर्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

घटनामा पूर्व शिक्षक एवं माओवादी केन्द्रका नेता गोपाल प्रकाश ढुंगानाको मृत्यु भएको हो । ढुंगानालाई मदन पन्थाक परिवारले शिलान्यासका क्रममा पुजारीको रुपमा बोलाएको थियो ।

पहिरोले पुर्दा १० वर्षीया क्याट्रिना पन्थाक घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पतालमा भर्ना गरिएको
छ ।

आज (सोमबार) बिहान साढे आठ बजे छिमेकी पन्थाकको घर सम्याइएको घडेरीमा घर निर्माणका लागि शिलान्यास गर्ने क्रममा अर्का छिमेकी लेखनाथ खतिवडाको सेप्टिक ट्यांकी फुटेर पहिरोको रुप लिँदै आएको ढुंगा र माटोले ढुंगानालाई पुरेको थियो ।

एक्सकाभेटर प्रयोग गरेर ढुंगानालाई बाहिर निकालिए पनि उनको त्यसअघि नै ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

६७ वर्षीय सेवा निवृत्त शिक्षक ढुंगाना सुखवोध मावि जोरसालका पूर्व प्रधानाध्यापक, एवं नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका पूर्व सभापति थिए । पछिल्लो समय माओवादी केन्द्रमा प्रवेश गरेका उनलाई सो पार्टीले प्रदेश सल्लाहकार परिषद् सदस्य एवं जिल्ला सदस्यको जिम्मेवारी दिएको थियो ।