‘घोषणा पत्रमा भएको ७५ प्रतिशत काम गरेको छु’




स्थानीय निर्वाचन भएको करिब पाँच वर्ष पुग्यो । पाँच वर्षभित्र आफ्नो वडामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटक र रोजगार जस्ता कामहरु के कति पुरा भएका छन्, काम गर्दा आएका समस्याहरु के के थिए र आगामी निर्वाचनको लागि के कस्तो तयारी भैरहेको छ भन्ने विषयमा कोहलपुर टुडेका समाचारदाताले कोहलपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष दिपक जंग शाहसंग गरेको कुराकानीको सम्पादित अंश :-

१. पाँचवर्षको कार्यकालमा के कस्ता कामहरु गर्नुभयो ?

म निर्वाचित भएपछि अहिलेसम्म जहाँ सडक थिएन, त्यहाँ सडक बने, जहाँ कालो पत्रे थिएन त्यहाँ कालोपत्रे बने, जहाँ बाटोमात्र थियो तर ग्राभेल थिएन त्यहाँ ग्राभेल बने । अहिले वडामा ४ किलोमिटर कालोपत्रे, ग्राभेल १५ किलोमिटर, नयाँ सडक ३ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । नेपाल राष्ट्रिय माध्यमिक लखनवार र बाल प्राथमिक विद्यालयमा एक/एक जना शिक्षक व्यवस्थापन गरिएको छ । सडकमा ८ वटा सोलारहरुको व्यवस्था गरिएको छ । वडा कार्यालयका आफ्नै भवन निर्माण भएको छ । डुडुवा खोलाको तटबन्धको निर्माण भएको छ । शहरी स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । आखाँ शिविर, लक्षित वर्गका कार्यक्रम सञ्चालन गरी आर्यआर्जन र रोजगारी उपलब्ध गराइएको छ । किसानहरुलाई मल, विउ वितरण गरिएको छ । वडामा विकास र समृद्धिका लागि निर्माण गरेको घोषणा पत्रमा भएको ७५ प्रतिशत काम गरेको छु ।

२. काम गर्दा के कस्ता समस्याहरु आइपरेका थिए ।

वडा कार्यालयमा सबैभन्दा ठुलो समस्या भनेको बजेटको समस्या हुन्थ्र्थो । सडक कालोपत्रे, ग्राभेल र नयाँ सडक, अन्य भौतिक पूर्वाधारका कामहरु गर्दा आफ्नो क्षेत्रमा विकास र समृद्धिका लागि लविङ्गहरु गर्नुभएको थियो सोही अनुसार बजेट व्यवस्थापन गरी सबै कामहरु भए । वडामा कुनै किसिमको समस्या आएन र अझै आउन पनि दिन्न् । किनभने पाँच वर्षको समयमा पार्टीगत रुपमा कसैलाई पनि हेरिन । सबैलाई सम्मानजनक रुपमा हेरे । पाँच वर्षको समय केही छिनमै गएको महशुस गरेको छु ।

३. आगामी बैशाख ३० गते निर्वाचन आउँदैछ त्यसमा यहाँको पुनः अध्यक्ष पदमा उम्मेदवारी हुन्छ या हुँदैन, के हुन्छ ?

मेरो पार्टीले अध्यक्ष पदको लागि उपयुक्त पात्र मानेको खण्डमा उम्मेदवारी दिनेछु । अहिले पनि अध्यक्ष पदका लागि सिफारीस भैसकेको छ । वडा नम्बर ७ का जनताहरुले कस्ता उम्मेदवार चाहेका छन् भन्ने कुरा यहाँका नेता तथा कार्यकर्ताहरुले बुझेका छन् । मेरो नाम अहिले पनि पार्टीले पहिलो नम्बरमा वडा अध्यक्षको लागि सिफारीस गरेको छ । म के विश्वस्थ छु भने टिकट पाइयो भने पुनः अध्यक्ष निर्वाचित हुन्छ ।

४. अन्त्यमा आगामी निर्वाचन बैशाख ३० गते आउँदैछ आफ्ना वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

नेपालमा संघियता लागुभएपछि २० वर्षपछि स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा मलाई अत्याधि बहुमतले विजय गराउनुभएको थियो । अहिले म भन्दा पनि सक्षम छु भन्ने अरु कोहीलाई लाग्छ भने अरुलाई जिताउनुहोस् नत्र भने मेरो सिफारिस भएको छ के हुन्छ थाहा छैन तर फेरी अध्यक्ष पदका लागि फाइनल उम्मेदवारी दिने भयो भने मलाई नै जिताउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत २९ गते मंगलबार