गभर्नर महाप्रसाद अधिकारी निलम्बित

काठमाडौं

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । अब उनीमाथि छानबिनको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ ।

देशको अर्थतन्त्रमा नकारात्मक असर परिरहेका बेला सरकारले गभर्नर निलम्बन गरेको हो ।
सरकारले गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेकोसहितका आरोप लगाएको छ ।

सरकार परिवर्तन भएदेखि नै अर्थमन्त्री जनार्दन शर्मा गभर्नर अधिकारीसँग रुष्ट थिए । आजै मात्र राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री शर्माले आफूलाई राष्ट्र बैंकबाट असहयोग भएको बताएका थिए ।

अधिकारीलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले ०७६ चैत २४ मा गभर्नर नियुक्त गरेको थियो । उनी नेपाल राष्ट्र बैंकको १७औँ गभर्नरका रूपमा नियुक्त भएका थिए ।

गभर्नर बर्खास्त गर्नुअघि नेपाल राष्ट्र बैंक ऐनकाे दफा २२ काे उपदफा २ अनुसार सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट सरकारले तोकेको २ जना व्यक्ति सदस्य रहने व्यवस्था छ । छानविन समिति गठन भएपछि गभर्नर स्वत: निलम्बन हुन्छन् ।