समालोचना : लकडाउन पढेपछिको अनुभुती




गौरीलाल कार्की

ढिलै भएपनि सागर गैरेको लकडाउन निबन्ध संग्रह पढ्ने मौका मिलाए। पढ्दापढ्दै समिक्षा कोर्ने उत्सुकता जाग्यो। फेरि सोचे, समिक्षा पनि स्वयं साहित्य नै हो र साहित्य सृजना गर्नु मेरा लागि अलिक कठिन काम हो। योग्यका दृष्टिले म आफुलाई लेखक ठान्दिन तैपनि लकडाउन पढ्दा मैले जे अनुभुती गरे त्यहीँ कुरा शब्दमा उतार्ने प्रयत्न गरेको छु।

कोहलपुरमा म २०५० सालदेखि बस्दै आएपनि सागर गैरेलाई सामान्यतया २०५६ सालदेखि चिन्थे। वास्तविक नाम उहाँको सागर होइन रहेछ, चिन्तामणी हुँदै हिमलाल पो रहेछ, यो नवीन परिचय पाउने साइत यहीँ निबन्धले जुरायो। तर वास्तवमा उहाँ सागर नै हो। नामले मात्रै होइन, साहित्य क्षेत्रको सागर, सरल विषयबस्तु छनौटको सागर, सरल शब्द चयनको सागर अनि भुँइ मान्छेहरुको कथा सृजनाको सागर। मलाई यस्तो ठम्याउन लकडाउनले बाध्य बनायो। मेरो दृष्टिले सागरको गलामा साहित्यिक क्षेत्रको नक्षेत्र, साहित्यको तारा उपमाको माला पहिर्‍याएर कोहलपुरको अमुल्य सम्पत्तिको रूपमा बजारभरि घुमाउने इच्छा जागेको छ। नेपालभर चिनाउने लोभ पलाएको छ। मलाई पुर्णतः विश्वास छ, कोहलपुरमा सागर साहित्यिक ताराको रूपमा अविरल एवं अटल चम्किरहनेछ।

लकडाउनमा एक चालीस वटा लघु निबन्ध कुँदिएका छन्। सागरले कुन अर्थ र भावमा यी निबन्धहरु लेखे होलान् ? यो असाध्यै जटिल प्रश्न हो।

साहित्यको क्षेत्रमा म अझै अन्धो नै छु। मैले सुनेको कुरा हो, साहित्यको कुनै निश्चित अर्थ हुँदैन रे। साहित्य कुन अर्थमा लिने वा बुझ्ने त्यो पाठकको अवस्था र दृष्टिकोणमा भर पर्दछ भन्ने कुरा सुनेको हुँ र त्यो हो रछ पनि। लकडाउनमा एकचालीस वटा लघु निबन्ध कुँदिएका छन्। सागरले कुन अर्थ र भावमा यी निबन्धहरु लेखे होलान् ? यो असाध्यै जटिल प्रश्न हो। तर यीनको अर्थ केहि न केहि पक्कै हुनुपर्छ, केही निबन्ध लेख्दालेख्दै सागर रोएको हुनुपर्छ, केहि निबन्ध लेख्दालेख्दै सागर टोलाएको हुनुपर्छ, कुनै प्रसंगमा लेख्दालेख्दै सागर मुस्कुराएको र लेख्ने क्रममा कुनैबेला सागरको जिउमा सिरिङ्ग सिरिङ्ग काँडा उम्रीएको हुनुपर्छ, यो चाहिँ पक्कै हो। सायद त्यो कुरा सागरलाई नै थाहा होला। किनभने मलाई त्यस्तै भयो, मैले पढ्दापढ्दै कैयौंपटक आँसु पुछे, टोलाए, गहिराईमा डुब्दै जादा, शब्द शब्द छुँदै जादा कतिबेला जोसिए, कुनै सन्दर्भमा एक्लै हाँसे पनि बौलाहा झैं। विभिन्न अनुभुती भए। मुटु छोयो।

मलाई लाग्यो, सबै निबन्धका भाव निम्न र निम्न मध्यम वर्गीय मान्छेहरुका लागि सृजना भएका हुन्। नेपाली समाज परिवेश, नेपाली पारिवारिक सम्बन्धको सन्दर्भमा दाँजेर अर्थ्याउदा र जीवनका विभिन्न कालखण्डका पलहरुका वर्णन पाठककै जीवनमा मेल खाने गरि शब्द छरिएका छन्। झट्ट हेर्दा कतिपय पाठकलाई लाग्नसक्छ, यो पारिवारिक र व्यक्तिगत घटना वर्णन हो तर मैले यसभित्र हामी सबै नेपालीको बाल्यकाल र बाल मनोविज्ञान पाए। पारिवारिक सुमधुर सम्बन्ध कायम गर्नु र एउटा परिवार अनुशासित,मर्यादित र व्यवस्थित बनाउनु देशको शासन व्यवस्था चलाउनु भन्दा कम्ती चुनौतीपूर्ण छैन। मैले पढ्दापढ्दै आमाको वात्सल्य, बाबाको माया, नेपाली जीवनशैली, स्कुलका दौँतरी, भाइबहिनी र भाइभाइ बीचको सम्बन्धको सार्थक अर्थ छामे।

अझै खास विशेषता सामाजिक सेवा, बालबालिकाको पढाई एवं भविष्य, प्रकृति र पशु-पंक्षीप्रतिको प्रेम देखि लिएर जन्मथलो र कर्मथलोको माया, विकास एवं विनाशको द्वन्द्व, पेशागत गतल राजनीति, सामाजिक समस्याको पहिचान, जातीय विभेद, लैंगिक असमानता, माटोप्रतिको माया, सिमानाको चिन्ता, राष्ट्र एवं राष्ट्रियताको चिन्ताका भावनाहरु भिन्नाभिन्नै प्रसंगमा लकडाउन भित्र छछल्किएका छन्।

म जुम्लाको सिंजामा जन्मेहुर्केको भएपनि कोहलपुरको माटोबाट बनेको रगत मेरो शरीरमा दौडिरहेको छ। कोहलपुर पिपल चौतारासँग मैलेपनि साइनो गाँसेको थिए। “पिपल चौतारा” सागरको वर्णनले मलाई भावुक बनायो। “हिउँदे झरीमा यात्रा” पढ्दापढ्दै जुम्ला छँदा सुर्खेत हाटबजार गर्दा होस् वा पछिल्लो समय संगठनको कामको सिलसिलामा होस् सुर्खेत देखि जुम्लासम्म गरिएका पैदल यात्राहरु भित्र सुन्दर जीवन देखे। प्रायः सबै निबन्धहरुमा सरल भाषामा बर्णन गरिएका निम्न मध्यम वर्गका मान्छेहरुको जीवन कथा जस्तै लाग्यो। जतासुकै मृत्यु छ, भोक, रोग, विपत्ति र अनेकौं समस्यासँग सामना गर्दै बाँच्नुको आनन्द छुट्टै हुनेरहेछ। दुखभित्र असीम सुख खोज्ने प्रयत्न गर्नुपर्छ। इमानदारीता र सदाचार जीवनको सबैभन्दा ठुलो सम्पत्ति हो। लकडाउन भित्र लुकेर बसेका यस्तै यस्तै भावनाहरुले मेरो जीवनको इमानदारीता, सदाचार र बाँच्नका लागि संघर्षमा पनि इटा थपेको अनुभुती गरेको छु।

साहित्य बन्दुक भन्दा पनि खतरनाक हुन्छ। कलमको टुप्पो तोप, गोला बारुदभन्दा शक्तिशाली हुन्छ। विश्वका रंगमञ्चमा थुप्रै उथलपुथल र कायापलट पार्ने तागत र उर्जाको श्रोत साहित्य, गित र संगीत पनि हो। साहित्यले सजिलोसँग छुन्छ र मान्छे छिटो प्रभावित हुन्छ। सायद लक्ष्मीप्रसाद देवकोटा, भुपी शेरचन, सिद्दिचरण, भैरव अर्याल लगायतका साहित्यकार न जन्मिएको भए जहाँनिया राणा शासनले एकसय चारको सट्टा एकसय दश वर्ष पो रगत चुस्थ्यो कि। शोषण मुलक, विभेदकारी र अन्यायपुर्ण व्यवस्था विरुद्ध विभिन्न साहित्यकारका शब्दहरु कुर्लिए। देवकोटाका शब्दहरु बौलाए।

विशेषता सामाजिक सेवा, बालबालिकाको पढाई एवं भविष्य, प्रकृति र पशु-पंक्षीप्रतिको प्रेम देखि लिएर जन्मथलो र कर्मथलोको माया, विकास एवं विनाशको द्वन्द्व, पेशागत गतल राजनीति, सामाजिक समस्याको पहिचान, जातीय विभेद, लैंगिक असमानता, माटोप्रतिको माया, सिमानाको चिन्ता, राष्ट्र एवं राष्ट्रियताको चिन्ताका भावनाहरु भिन्नाभिन्नै प्रसंगमा लकडाउन भित्र छछल्किएका छन्।

अधिकार र माटोको रक्षाको लागि सहिद बन्न शेरचनका शब्दहरुले उत्साहित गरे। पुर्खाहरु स्वाभिमानी बने, देश कसैको गुलाम बनेन। दु:खद आज देश स्वतन्त्र र स्वाभिमान हुँदाहुँदै पनि राजनीति गुलामको भइरहदा मुटु चसक्क हुन्छ। गणतन्त्र आएपनि, संविधान बनेपनि हाम्रो आफ्नो उत्पादन छैन, हामिसँग सबैथोक भएर पनि केहि छैन। खासमा नीति छैन। केहि मात्रामा नीति बनेपनि त्यो अनुरुपको नैतिकता छैन। पेशा वा व्यापार बनाइएको छ, राजनीति एवं मुल नीति। समाजमा अहिलेसम्म पनि अन्याय, अत्याचार, महंगी, भ्रष्टाचार, बलात्कार, लैंगिक विभेद, जातीय विभेदहरु कायम छन्। भाषा संस्कृति लोप भैरहेको छ। यी विभिन्न विकृति विसंगतिका विरुद्ध परिवर्तन, समानता र स्वतन्त्रताको लागि अझै सागरको साहित्य हाँक एवं गर्जन बनेको खण्डमा सुनमा सुगन्ध हुन्थ्यो कि भन्ने अर्ती छ।

अन्तमा, खुसुक्क थाहा पाएको छु, सागर गैरेको नियात्रा-निबन्ध कृति “बलैगाउँदेखि बाकुसम्म” छिट्टै बजारमा आउँदैछ रे पढ्न आतुर छु। हाम्रो पुर्णिमा साहित्य प्रतिस्ठान कोहलपुर बाकेलाई हार्दिक धन्यवाद। पुर्णिमाका अध्यक्ष महानन्द ढकाल र नयन राज पाण्डेलाई नमन। पुर्णिमामा आवद्ध शंकर लामिछाने “अशान्त”, केशव शाही “निमेष” लगायत सम्पुर्ण चिर परिचित मित्रहरूलाई सम्झिन चाहन्छु र प्रिय मित्र सागर गैरेको साहित्यिक यात्रा मुटुको धड्कन नरोकिएसम्म निरन्तर उचाइमा लम्किरहोस् हार्दिक शुभकामना एवं बधाई प्रकट गर्दछु।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार