काेहलपुर १ मा महिला तथा विपन्न वर्गलाई आत्मनिर्भर बनाउन कपास वितरण




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १ मा महिला तथा विपन्न वर्गलाई आत्मनिर्भर बनाउने उद्देश्यले जीविकोपार्जनका लागि कपासको बत्ती उत्पादन कार्यमा सहयोग पु¥याउने हेतुले कपास वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित महिला र विपन्न परिवारलाई लक्षित गर्दै सञ्चालन गरिएको र स्थानीय स्तरमै सानो लगानीबाट आम्दानी गर्ने बाटो खोल्ने विश्वास गरिएको वडा अध्यक्ष बद्रिप्रसाद जैसीले जानकारी दिए ।

कार्यक्रममार्फत सहभागी महिलाहरूलाई कपासको बत्ती उत्पादन सम्बन्धी आधारभूत जानकारी समेत प्रदान गरिएको थियो । घरमै बसेर गर्न सकिने यस प्रकारको सीपमूलक कामले महिलाहरूको समय सदुपयोग हुनुका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष जैसीले बताए ।

धार्मिक कार्य, पूजा–आजा, पर्व तथा दैनिक प्रयोगका लागि कपासको बत्तीको माग सधैं रहने भएकाले यो उत्पादनलाई स्थायी आम्दानीको स्रोतका रूपमा समेत लिन सकिने अध्यक्ष जैसीले बताए ।

यस्तै कोहलपुर नगरपालिका वडा सदस्य गंग कामीले विपन्न वर्गलाई राहत मात्र नभई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने सोचका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । सहभागी महिलाहरूले पनि यस्ता अवसरले आफूहरूलाई हौसला मिलेको, आफ्नै मेहनतबाट कमाइ गर्ने आत्मविश्वास रहेको प्रतिक्रिया दिए ।

स्थानीय सरकार, संघसंस्था तथा समुदायको सहकार्यमा यस्ता सीप विकास र आयआर्जनमुखी कार्यक्रमलाई निरन्तरता दिन सके महिला सशक्तीकरण तथा गरिबी न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको आर्थिक विकास शाखाका अधिकृत विर बहादुर विकले जानकारी दिए । कपास वितरण कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिएको छ भने श्रम, सीप र आत्मनिर्भरताको संस्कार विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको विकले जानकारी दिए ।

यस्तै तालिममा कोहलपुर नगरपालिकाका करिब ४० भन्दा बढि महिला तथा विपन्न वर्गको सहभागिता रहेको थियो भने वडा सदस्यहरुको समेत उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार