बैजनाथ गाउँपालिकामा शिक्षा, कृषि सामग्री वितरणमा पक्षपात भएको आरोप, छानबिनको माग




बैजनाथ । राष्ट्रिय स्वतन्त्र पार्टी बैजनाथ गाउँपालिका समिति, बाँकेले बैजनाथ गाउँपालिकामा शिक्षा, कृषि सामग्री वितरण तथा विकास योजनामा पक्षपात र अनियमितता भएको आरोप लगाउँदै तत्काल छानबिन र सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएको छ। समितिले गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै सार्वजनिक सरोकारका विषयमा सात बुँदे माग अघि सारेको हो।

धन बहादुर बस्नेतकाे हस्ताक्षरित पत्रमा पछिल्लो समय गाउँपालिकाभित्र विभिन्न किसिमका अनियमितता र विभेदजन्य कार्य भइरहेको भन्दै विशेषगरी कृषि क्षेत्रमा वितरण गरिने बीउ, मलखाद तथा अन्य सामग्री वास्तविक किसानसम्म नपुगी सीमित व्यक्तिहरू, कार्यकर्ता र पहुँचवालालाई मात्र प्राथमिकता दिइएको आरोप लगाइएको छ। यसले वास्तविक किसान अन्यायमा परेको र सरकारी स्रोत–साधनको दुरुपयोग भएको दाबी गरिएको छ।

यस्तै गाउँपालिकाका विभिन्न योजनाहरूमा पारदर्शिताको अभाव, बजेट विनियोजनमा पक्षपात तथा कार्यान्वयन प्रक्रियामा अनियमितता देखिएको भन्दै जनगुनासो बढ्दै गएको समेत उल्लेख गरिएको छ भने समितिले कृषि सामग्री वितरण प्रक्रिया पारदर्शी बनाउन, मापदण्ड र कार्यविधि सार्वजनिक गर्न तथा स्थानीय र राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन किन नभएको स्पष्ट पार्न माग गरेको छ।

यस्तै विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज गर्दा थप नगरिँदा विद्यार्थीको पढाइ प्रभावित भएको, सामुदायिक विद्यालयमा निजी स्रोतका शिक्षक भर्ना गरी शुल्क उठाइँदा अभिभावक आर्थिक र मानसिक तनावमा परेको तथा संस्थागत विद्यालयमा वार्षिक शुल्कका नाममा अत्यधिक रकम असुली भइरहेको विषयमा पनि पालिकाको धारणा माग गरिएको पालिका सभापति बस्नेतले जानकारी दिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार