सिरहामा बस दुर्घटना : दुई जनाको मृत्यु, २५ घाइते

जनकपुरधाम।

सिरहामा​ यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुवाहक बस मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक स्प्रिङ पट्टा भाँचिएर अनियन्त्रित भई दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

मृत्यु हुने दुवै जना पुरुष रहेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको डिएसपी बस्नेतले बताए । उक्त दुर्घटनामा बसमा सवार अन्य २५ जना यात्रुहरू भने घाइते भएका छन् । घाइतेहरूको उपचार गोलबजारमा रहेका हस्पिटलहरूमा भइरहेको उनले बताए ।

डिएसपी बस्नेतका अनुसार मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । बसका चालक र बस मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यस घटनाबारे अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए ।