यात्रुबहाक बस अनियन्त्रित भई पल्टियो, ३८ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस बिहान करिब ९ः २० बजेतिर अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन् ।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सम्पर्कमा आएका घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भईरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

उनीहरूको अवस्था सामान्य छ । बस चालकसहित ६ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर छ भने चालकको अवस्था मध्यम छ ।

पाँच जनालाई उपचारको लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको छ । पाँचमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको बुझिएको उनले बताए ।
सडकमा पल्टिएको बसलाई क्रेनको सहायताले हटाएर सडक खुला गरिएको उनले जानकारी दिए ।