राजमार्ग सुरक्षा पोष्ट नवनिर्मित भवनको उद्घाटन

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गाउँपालिका–२ कचनापुर (जिरो)मा सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा पोष्ट नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सोमबार राजमार्ग सुरक्षा पोष्ट कचनापुरको उद्घाटन गर्दै अध्यक्ष थारुले जनताहरुको सहयोग र सहकार्यविना कुनै सम्भव नहुने र शान्ति सुरक्षाको उचित प्रबन्ध भएन भने विकास नहुने भन्दै सीमा सुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले अतुलियन योगदान पुर्याएको चर्चा गरे ।

आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटेर जनताहरुलाई बचाउन सहयोग गरेकोमा सशस्त्र प्रहरीहरुलाई अध्यक्ष थारुले धन्यवाद समेत दिए । राजमार्ग सीमा आफैंमा संवेदनशील विषयवस्तु भएकाले सम्बन्धीत निकायसँग समन्वयमा कुशलतापूर्वक सशस्त्र प्रहरीले जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए । त्यसैगरी गाँउपालिका उपाध्यक्ष धनि कुमारी खत्रीले राजमार्गमा हुने दुर्घटना, चोरी/पैठारी, आइपर्ने हरेक समस्यामा सुरक्षा निकाय र जनस्तरमा आपसी समन्वय गर्नुपर्ने बताइन् ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल ४२ नं. रिजब गणका गणपति प्र.स.उ.शशी पाण्डेले राजमार्ग तथा खुल्ला सीमा भएकाले जस्तोसुकै गतिविधि हुने भएको हुँदा गैर कानूनी गतिविधिलाई सशस्त्र प्रहरीले क्षमा नदिने भन्दै सीमा सुरक्षा र शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्न पाण्डेले निर्देशन समेत दिए ।

सो अवसरमा उनले सशस्त्र प्रहरीहरु हरपल जनताको सेवामा अझै कडा रुपले लाग्नुपर्ने पनि बताए । राजमार्ग सुरक्षा पोष्ट भवन राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।