Kohalpur Today Header Ads

साढे दुई करोड रुपैयाँभन्दा बढी मूल्यको सुनका गरगहनासहित भैरहवाबाट एक महिला पक्राउ




बुटवल । भारतबाट अवैध रूपमा भित्र्याइएको साढे दुई करोड रुपैयाँभन्दा बढी मूल्यको सुनका गरगहनासहित भैरहवाबाट एक महिला पक्राउ परेकी छन्।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका-१ स्थित शान्तिटोल गेटमा गरिएको जाँचका क्रममा काठमाडौं महानगरपालिका-१९ की ४६ वर्षीया इला पटेललाई पक्राउ गरेको हो।

LIfe Ok

उनको साथबाट २ किलो ६०५ ग्राम बराबरका विभिन्न तयारी सुनका गरगहना बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीका सूचना अधिकारी डिएसपी दुर्गा बहादुर थापाका अनुसार बरामद गरगहनाको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ रहेको छ।

रुपन्देही सुनचाँदी व्यवसायी संघसँगको समन्वयमा परीक्षण गर्दा ती गरगहना सुन भएको प्रमाणित भएको डिएसपी थापाले बताए।

भारतबाट ठूलो परिमाणमा सुन तस्करी भइरहेको विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख, प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी सहायक निरीक्षक लालबहादुर केसीको टोलीले पटेललाई नियन्त्रणमा लिएको थियो।

पटेलको साथबाट ९ थान हार, ८१ थान औंठी, थप १४ वटा औंठी, १३ थान चुरा, ४ थान माला, हसुली किसिमको सिक्री ८ थान, विभिन्न डिजाइनका सिक्री २४ थान, पत्थरसहितको झुम्का २० थान, अन्य झुम्का २४ थान र सानो झुम्का १० पिस बरामद गरिएको छ।

यसैगरी १ थान लकेट (जन्तर), १७ थान पोते, १८८ जोर बाली र जुली, पत्थरसहितको टप ६४ जोर, नाकको फुली २२ पिस, पत्थरवाला हार २ पिस, कानको बाली ११ जोर र ब्रासलेट ८ पिस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरगहनासहित पक्राउ परेकी पटेललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय चलान गरिएको छ।

खुला सीमा नाकाको फाइदा उठाउँदै रूपन्देहीका विभिन्न बिन्दुबाट घरायसी सामानका साथै सुन तस्करी हुने क्रम पछिल्लो समय बढेको छ।

-नागरिकबाट साभार

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार