संस्थागत र सामुदायिक विद्यालयका शिक्षक : कोहलपुरको शिक्षामा सहकार्य र संस्कारको नयाँ सन्देश




कोहलपुर । शिक्षा केवल पाठ्यपुस्तक र परीक्षामा सीमित विषय होइन, संस्कार, अनुशासन, सकारात्मक सोच, स्वास्थ्य र जीवनोपयोगी ज्ञानसँग जोडिनुपर्छ भन्ने सन्देशसहित कोहलपुरमा पाँचदिने ‘युवा संस्कार एवं योग विज्ञान शिविर’ सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा सुरु भएको शिविरमा संस्थागत र सामुदायिक विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूलाई एउटै मञ्चमा जोडिएको छ ।

विद्यालय फरक हुन सक्छन्, व्यवस्थापन फरक हुन सक्छ, तर शिक्षकको मूल उद्देश्य एउटै हो—बालबालिकाको भविष्य निर्माण गर्नु । यही साझा उद्देश्यलाई केन्द्रमा राखेर संस्थागत र सामुदायिक विद्यालयका शिक्षकलाई एउटै मञ्चमा ल्याउनु आफैंमा प्रेरणादायी कदम हो । प्रतिस्पर्धाभन्दा सहकार्य, तुलना भन्दा सिकाइ र विभाजनभन्दा एकताले शिक्षाको गुणस्तरलाई थप बलियो बनाउन सक्छ ।

योगसँगै सकारात्मक सोचको अभ्यासलाई पनि शिविरले महत्व दिएको छ । योग, ध्यान, प्राणायाम, तनाव व्यवस्थापन, संस्कारयुक्त शिक्षण विधि तथा सकारात्मक सोच निर्माणसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक सीप शिक्षकले प्राप्त गर्ने कार्यक्रमको उद्देश्य रहेको क्रिसा बाँकेका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष ओपेन्द्र केसीले बताए ।

शिक्षक स्वयं शारीरिक तथा मानसिक रूपमा स्वस्थ र सकारात्मक भए त्यसको प्रभाव विद्यार्थीको सिकाइ र व्यवहारमा समेत पर्न सक्छ । त्यसैले यस्तो पहललाई शिक्षकको क्षमता विकाससँगै विद्यार्थीको समग्र विकासमा गरिएको लगानीका रूपमा लिन सकिने केसीको भनाई छ ।

यस्तै नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई उत्कृष्ट ‘शैक्षिक हब’ का रूपमा विकास गर्ने योजनासहित संस्थागत र सामुदायिक दुवै विद्यालयलाई एउटै सूत्रमा जोडेर विषयगत, सीपमूलक तथा प्रभावकारी शैक्षिक कार्यक्रम निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो प्रतिबद्धता व्यवहारमा निरन्तर अघि बढ्न सके कोहलपुरको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन सक्ने आधार बन्न सक्ने भन्दै राम्रो शिक्षा एउटा विद्यालयको मात्र उपलब्धि होइन, सिंगो समाजको उपलब्धि हुने नगर प्रमुख आचार्यले बताए ।

यस्तै कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक ईश्वरी विकले कोहलपुरमा संस्थागत र सामुदायिक विद्यालयका शिक्षक एउटै मञ्चमा उभिनु आफैंमा एउटा महत्वपूर्ण सन्देश भएको बताए । विद्यालय फरक भए पनि लक्ष्य एउटै छ, शिक्षक फरक भए पनि जिम्मेवारी एउटै छ र भविष्य निर्माण गर्ने सपना पनि एउटै भएको उनको भनाई थियो । साध्वी डा. देवविजयाको विशेष प्रवचन समेत दिएका थिए ।

यस्तै शिक्षा शाखा प्रमुख रबीलाल मिजारले स्वागत मन्तव्य दिँदै यो कार्यक्रमको सबैभन्दा सकारात्मक पक्ष नै ‘हामी अलग विद्यालय होइनौँ, एउटै शैक्षिक यात्राका सहयात्री हौँ’ भन्ने भावना विकास गर्नु हो ।

संस्थागत विद्यालयका शिक्षक र सामुदायिक विद्यालयका शिक्षक एउटै ठाउँमा बसेर योग, ध्यान, प्राणायाम, तनाव व्यवस्थापन, संस्कारयुक्त शिक्षण विधि र सकारात्मक सोचका विषयमा सिक्ने तथा अनुभव आदानप्रदान गर्ने अवसरले कोहलपुरको शैक्षिक वातावरणमा सहकार्यको नयाँ आधार बन्ने उनले विश्वास व्यक्त गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार