Kohalpur Today Header Ads

गुरु पूर्णिमामा अनुकरणीय उदाहरण बन्यो यमुना नन्द नमुना मावि मुसिकोट नगरपालिका रुकुम पश्चिम




मुसिकोट, रुकुम पश्चिम, 
गुरु पूर्णिमामा अनुकरणीय उदाहरण बन्यो यमुना नन्द नमुना मावि
जन्मभूमिको विद्यालयमा भव्य रूपमा गुरु पूर्णिमा मनाइएकामा उपप्राध्यापक एकराज शर्मा खुसी, रुकुम शिक्षा र संस्कृतिमा देशकै नमूना बन्दै गएको टिप्पण गरेका छ्न । गुरु पूर्णिमाको अवसरमा देशभरका विद्यालयहरूले गुरुजनप्रति सम्मान व्यक्त गर्दै विविध कार्यक्रम आयोजना गरेका छन्। यसैक्रममा रुकुम (पश्चिम) को मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित श्री यमुना नन्द नमुना माध्यमिक विद्यालय ले आयोजना गरेको गुरु पूर्णिमा विशेष कार्यक्रम सामाजिक सञ्जालमा समेत प्रशंसित बनेको छ।


विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गुरु–शिष्यबीचको सम्मान, अनुशासन, एकता र संस्थागत संस्कृतिलाई केन्द्रमा राखेर सम्पन्न कार्यक्रमले विद्यालयको सुदृढ नेतृत्व, उत्कृष्ट कार्यसंस्कृति तथा सामूहिक भावनाको सकारात्मक सन्देश दिएको छ।
शैक्षिक क्षेत्रका जानकारहरूका अनुसार कुनै पनि विद्यालयको सफलता केवल भौतिक पूर्वाधारले मात्र सुनिश्चित हुँदैन। सक्षम नेतृत्व, स्पष्ट कार्यविभाजन, शिक्षक–कर्मचारीबीचको विश्वास, सहकार्य र सकारात्मक कार्यसंस्कृतिले नै संस्थालाई सफल बनाउने आधार तयार गर्छ। यमुना नन्द नमुना माध्यमिक विद्यालयले यिनै मूल्य र मान्यतालाई व्यवहारमा उतार्दै शैक्षिक गुणस्तरसँगै सामाजिक, सांस्कृतिक तथा नैतिक पक्षलाई पनि समान प्राथमिकतामा राखेको देखिन्छ।
यसैबीच, तत्कालीन खोलागाउँ गाविस–७ (हाल चौरजहारी नगरपालिका–१२) का स्थायी बासिन्दा तथा हाल कोहलपुर नगरपालिका–१२, बाँकेमा बसोबास गर्दै आएका मध्यपश्चिम विश्वविद्यालय, वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरका उपप्राध्यापक एवं ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्मा ले आफ्नो जन्मभूमिको विद्यालयमा गुरु पूर्णिमा भव्य रूपमा मनाइएको देखेर अत्यन्त खुशी लागेको बताएका छन्।
शर्माले विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारलाई धन्यवाद दिँदै नेपालमा सदियौँदेखि चलिआएको गुरु–शिष्य सम्मानको संस्कार, संस्कृति र आदरलाई निरन्तरता दिने यस्ता कार्यक्रमहरू अत्यन्त स्वागतयोग्य भएको बताए।
उनले पछिल्लो समय रुकुम (पश्चिम) शिक्षा, संस्कार र संस्कृतिको क्षेत्रमा देशकै नमुना जिल्लाका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै यसप्रति आफूलाई गर्व लागेको प्रतिक्रिया दिए।
त्यसैगरी, विद्यालयका पूर्वप्रधानाध्यापक, शिक्षाविद् तथा समाजसेवी गोपाल केसी को योगदानको समेत प्रशंसा गर्दै शर्माले विद्यालयमा उहाँले स्थापित गर्नुभएको अनुशासन, सम्मान र संस्कारको परम्पराबाट सबैले प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरे।
शर्माले यस प्रेरणादायी कार्यक्रमको सफल आयोजनाका लागि विद्यालयका प्रधानाध्यापक, शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा विद्यालयले अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै देशकै नमुना शैक्षिक संस्थाका रूपमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
उनले शिक्षा क्षेत्रमा यस्ता सकारात्मक, संस्कारमूलक र प्रेरणादायी अभ्यासहरू देशभर विस्तार हुँदै जानुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमले विद्यार्थीमा गुरुप्रतिको सम्मान, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार