शेरबहादुर केसी सुर्खेत, साउन १३ गते ।
मध्यपश्चिम विश्वविद्यालय नीति प्रयोगशालाको आयोजनामा वीरेन्द्रनगर, सुर्खेत स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधबार उच्च शिक्षामा कानुन शिक्षाको नीतिगत हस्तक्षेप तथा सुधारका अवसरहरू विषयक नीति संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा मुलुकका सार्वजनिक नीति विश्लेषक तथा संवैधानिक कानूनका ज्ञाता प्रा. डा. बिपिन अधिकारीले नेपालको उच्च शिक्षामा कानून शिक्षाको वर्तमान अवस्था, नीतिगत हस्तक्षेपको आवश्यकता तथा सुधारका सम्भावनाबारे आफ्नो विचार प्रस्तुत गरे ।
उनले गुणस्तरीय कानून शिक्षा, अनुसन्धानमा आधारित नीति निर्माण, शैक्षिक सुशासन तथा विश्वविद्यालय र राज्यबीच प्रभावकारी समन्वय मार्फत उच्च शिक्षालाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
प्रा.डा. अधिकारीले प्रमाणमा आधारित नीति निर्माण, सरोकारवालाबीच निरन्तर संवाद तथा प्रभावमुखी कार्यान्वयन मार्फत उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सकिने धारणा व्यक्त गरे ।

उनले कानुनी शिक्षालाई सार्वजनिक नीति, दर्शन, प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्य शैक्षिक क्षेत्रसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।
सहभागीहरूले सिकाइलाई समाजका वास्तविक समस्या र व्यावसायिक अभ्याससँग जोड्नुपर्ने सुझाव दिएका थिए । नीति प्रयोगशालाले आगामी दिनमा नीति संवाद, अनुसन्धान र ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्दै उच्च शिक्षा सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीको अध्यक्षता र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक एवं नीति प्रयोगशालाका संयोजक डा. यदुप्रसाद ज्ञवालीले सहजीकरण गरेको उक्त कार्यक्रममा पूर्व उपकुलपति प्रा.डा. नारायणप्रसाद पौडेल, डीन सहप्रा. डा. पूर्णमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, कानून व्यवसायी, उद्योगी, कानूनका विद्यार्थी लगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्