भानुजयन्तीको अवसरमा कोहलपुरमा खुला रामायण वाचन प्रतियोगिता सम्पन्न




कृष्ण कुमार शाही, कोहलपुर, असार, २९

भानुजयन्तीको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरको आयोजनामा खुला रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ। आमपाठकमा पठन तथा वाचन संस्कृतिको विकास गर्दै नेपाली भाषा, साहित्य, संस्कार र सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।


कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ महानन्द ढकालले आदिकवि भानुभक्त आचार्यको योगदान नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि अनुपम रहेको बताए। उनले भानुभक्तको योगदानको जति चर्चा गरे पनि अपुग हुने उल्लेख गर्दै त्यसलाई राष्ट्रिय सीमाभन्दा बाहिर विश्वसमुदायसम्म पुर्‍याउन आवश्यक रहेको धारणा व्यक्त गरे। उनले पठन संस्कृतिको विकासका लागि पुस्तकालय र साहित्यिक गतिविधिहरूको महत्त्वसमेत औँल्याए।


कार्यक्रमका अध्यक्ष तथा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले पछिल्लो समय समाजमा पठन संस्कृति, नैतिक मूल्य, संस्कार र सांस्कृतिक चेतनामा आएको ह्रासलाई मध्यनजर गर्दै यस्ता कार्यक्रम आयोजना गरिएको बताए। पुस्तकालय ज्ञानको साझा केन्द्र भएकाले सबै उमेर समूहका पाठकका लागि सिकाइ र व्यक्तित्व विकासको प्रभावकारी माध्यम बन्नुपर्नेमा उनले जोड दिए।


अध्यक्ष शर्माले आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनसाधारणसम्म पुर्‍याएकै कारण मर्यादा पुरुषोत्तम श्रीरामको आदर्श नेपाली समाजमा व्यापक रूपमा स्थापित भएको बताए। उनले भानुभक्तसँग महर्षि वाल्मीकिको योगदान पनि अभिन्न रूपमा जोडिएकाले दुवैप्रति सम्मान व्यक्त गर्नुपर्ने धारणा राखे। कुनै पनि कार्यक्रमको सफलताको मापन सहभागीको सङ्ख्याले मात्र नभई त्यसले समाजमा पार्ने सकारात्मक प्रभावले हुने उल्लेख गर्दै उनले सम्पूर्ण अतिथि, निर्णायक, सहभागी तथा सहयोगीहरूप्रति आभार व्यक्त गरे।


निर्णायक समिति संयोजक तथा उपप्राध्यापक डा. हरिप्रसाद तिमिल्सिनाले भानुभक्त आचार्यको जीवन र नेपाली साहित्यमा उनको योगदानबारे प्रकाश पार्दै भारतको आसाम राज्यमा भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिइने गरेको जानकारी गराए। नेपाल सरकारले पनि भानुजयन्तीलाई राष्ट्रिय सम्मानका साथ सार्वजनिक बिदा दिएर मनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।


कार्यक्रममा कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा निर्णायक डा. पुष्कर रिजाल, समाजसेवी बलबहादुर खड्का ‘अविरल’, गायक प्रभात सुवेदी, निर्णायक नारायणप्रसाद शर्मा, उद्घोषक कोष खड्का, धारा साहित्यका अध्यक्ष ईश्वरी रिजाल ‘उल्कापात’, पुस्तकालयका पूर्वअध्यक्ष जयश्वर पौडेल र लिलबहादुर राना, पत्रकार, साहित्यकार, समाजसेवी तथा विभिन्न विद्यालयका शिक्षक–विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा शोभना देवकोटा प्रथम, सुप्रभा उपाध्याय द्वितीय तथा शिवशक्ति माध्यमिक विद्यालयकी छात्रा सदिक्षा भट्टराई तृतीय भइन्। विजेताहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।


कार्यक्रमको प्रारम्भमा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम उपसमिति संयोजक निर्मल आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए। स्वस्तिवाचन तथा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष एकराज शर्माले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव रविन्द्र सुवेदीले गरेका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार