कोहलपुरमा एकमहिने शिक्षक सेवा आयोग तयारी कक्षा सम्पन्न




शिवध्वज शाही, कोहलपुर ।
कोहलपुर, असार १। सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्ज, बाँकेको आयोजनामा सञ्चालन गरिएको एकमहिने शिक्षक सेवा आयोग (आधारभूत तह) तयारी  कक्षा सम्पन्न भएको छ। कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सभाहलमा सञ्चालन भएको उक्त कक्षाको समापन कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका नवनिर्वाचित अध्यक्ष एकराज शर्माले प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै शिक्षक सेवा आयोगको परीक्षामा सफल हुनुपर्नेमा जोड दिए।


उनले २१औँ शताब्दीमा दक्ष, तालिमप्राप्त तथा प्रविधिमैत्री शिक्षकको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै शिक्षक पेशा समाज निर्माणको महत्वपूर्ण आधार भएकाले यसमा गर्व गर्नुपर्ने बताए। विद्वान प्रशिक्षकहरूबाट हासिल गरेको ज्ञानलाई आगामी शिक्षक सेवा आयोगको परीक्षामा प्रभावकारी रूपमा प्रयोग गर्न उनले आग्रह गरे।
शर्माले अध्ययनलाई जीवनको मूल उद्देश्यका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै आफूलाई अब्बल बनाउन निरन्तर मेहनत, लगनशीलता र समयको सदुपयोग आवश्यक रहेको बताए। उनले प्रत्येक प्रशिक्षार्थीले शिक्षक सेवा आयोगमा सफल हुने लक्ष्यसहित निरन्तर तयारीमा जुट्नुपर्ने धारणा व्यक्त गरे।


कार्यक्रममा प्रशिक्षक तथा कृष्ण माध्यमिक विद्यालय का प्रधानाध्यापक दिलिप वली ले यस तालिममा सहभागी प्रशिक्षार्थीहरू अन्य स्थानमा आफूले प्रशिक्षण दिएका प्रशिक्षार्थीभन्दा सक्षम र मेहनती रहेको बताए। उनले निरन्तर अभ्यास र दृढ आत्मविश्वासका साथ तयारी गरेमा शिक्षक सेवा आयोगमा नाम निकाल्न सकिने विश्वास व्यक्त गरे।


गत जेठ १ गतेदेखि सञ्चालन भएको उक्त तयारी कक्षामा ३५ भन्दा बढी प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। सामाजिक विकास डिभिजन कार्यालयले सहभागीहरूलाई शिक्षक सेवा आयोगसम्बन्धी पुस्तक, कापी, पेन तथा दैनिक खाजा–नास्ताको व्यवस्था गरेको थियो।


सहभागीको तर्फबाट बोल्दै विष्णु शर्माले कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक रहेको बताए। उनले तालिममा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक तथा क्रियाकलापमा आधारित सिकाइको अवसर प्राप्त भएको उल्लेख गर्दै यस्ता कार्यक्रम एक महिनामा सीमित नराखी चार–पाँच महिनासम्म सञ्चालन गर्नुपर्ने सुझाव दिए।
सामाजिक विकास डिभिजन कार्यालयका कर्मचारी खुशिराम चौधरीले सहजीकरण गरेको समापन कार्यक्रम पुस्तकालयका अध्यक्ष एकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। शिक्षक सेवा आयोग तयारी कक्षाका प्रशिक्षकहरूमा दिलिप वली, रमेश घिमिरे र गोपाल शर्मा रहेका थिए।


उक्त कार्यक्रमको उद्घाटन एक महिनाअघि सामाजिक विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख तथा उपसचिव ऋषिराज शर्माले गरेका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार