बैजनाथको शिक्षामा एक वर्ष : सुधार, नवप्रयोग र गुणस्तरीय शिक्षाको आधार निर्माण




बैजनाथ । बैजनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकालले बैजनाथमा सरुवा भई आएको एक वर्ष पूरा गरेका छन् । यस अवधिमा उनले शिक्षा क्षेत्रको समग्र सुधार, विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रशासनिक प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण कार्यक्रमहरू कार्यान्वयन गरेका छन् । एक वर्षको अवधिमा भएका कामहरूले बैजनाथको शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको आधार तयार गरेको देखिन्छ ।

शिक्षा शाखाले सबैभन्दा पहिले विद्यालय व्यवस्थापनलाई व्यवस्थित बनाउन योग्यता पुगेका स्थायी शिक्षकहरूको बिना विवाद सरुवा गरी प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक विद्यालयहरूमा प्रधानाध्यापक व्यवस्थापन गरेको थियो। विद्यालयहरूको भौतिक वातावरण सुधारका लागि अधिकांश विद्यालयमा रंगरोगन गरिएको छ भने “एक विद्यालय, एक फूलबारी” कार्यक्रम लागू गरी सबै विद्यालयमा फूलबारी निर्माण गरिएको छ । यसले विद्यालय परिसरलाई आकर्षक र सिकाइमैत्री वातावरण बनाउन सहयोग पुगेको छ ।

आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै माध्यमिक तहका विद्यालयहरूमा डिजिटल माध्यमबाट अध्ययन–अध्यापन सञ्चालन गर्न स्मार्ट बोर्डको व्यवस्था गरिएको छ । शिक्षक छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन पालिकास्तरमा विषयविज्ञहरूको सूची तयार गरिएको छ । साथै विभिन्न तह र विषयका लागि प्रश्न बैंक निर्माण गर्न कार्यशाला सञ्चालन गरी प्रश्न बैंक तयार गरिएको छ ।

विद्यालयमा शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले “स्वयंसेवक शिक्षक” कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यस अन्तर्गत ७० जना स्वयंसेवक शिक्षक सूचीकृत गरी आवश्यकताअनुसार परिचालन गर्ने व्यवस्था गरिएको छ । त्यस्तै गरिब, जेहेन्दार, टुहुरा तथा अनाथ बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्न गाउँपालिका अभिभावक तथा संरक्षक रहने गरी “छात्रवृत्ति बैंक” स्थापना गरेर कार्यान्वयनमा ल्याइएको छ ।

शिक्षा प्रशासनलाई व्यवस्थित बनाउन शिक्षा शाखासँग सम्बन्धित ६ वटा कार्यविधि निर्माण गरिएको छ । स्थानीय पाठ्यक्रमको विकास गर्दै कक्षा १ देखि ७ सम्मका विद्यार्थीका लागि “हाम्रो बैजनाथ” नामक स्थानीय पाठ्यपुस्तक तयार पारिएको छ । विद्यालय सञ्चालन तथा व्यवस्थापन खर्च अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५० प्रतिशतले वृद्धि गरिएको छ । साथै करिब १३ वटा नयाँ दरबन्दी सिर्जना गरी शिक्षक अभावको समस्या आंशिक रूपमा समाधान गर्ने प्रयास गरिएको छ ।

शिक्षक तथा प्रधानाध्यापकहरूको क्षमता विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर, विशेषगरी भारतसम्म शैक्षिक, धार्मिक तथा अवलोकन भ्रमणको अभ्यास सुरु गरिएको छ । विद्यालयहरूमा राष्ट्रिय झण्डा, विद्यालय झण्डा र सदन झण्डा अनिवार्य रूपमा राख्ने व्यवस्था गरिएको छ । त्यस्तै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरू विद्यालय पोशाक, टोपी, कोट र टाईमा व्यवस्थित रूपमा विद्यालय प्रवेश गर्नुपर्ने असल अभ्यासको सुरुआत गरिएको छ ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूको श्रम अधिकार सुनिश्चित गर्न न्यूनतम तलब श्रम ऐनअनुसार १९ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ । उक्त रकम सम्बन्धित शिक्षकको बैंक खातामा पठाउनुपर्ने र त्यसको विवरण शिक्षा शाखामा बुझाउनुपर्ने व्यवस्था लागू गरिएको छ ।

विद्यालयमा अतिरिक्त क्रियाकलापलाई प्रवद्र्धन गर्न प्रत्येक शुक्रबार अतिरिक्त कार्यक्रम तथा महिनाको अन्त्यमा शिक्षक स्टाफ समीक्षा बैठक अनिवार्य गरिएको छ । यी कार्यक्रम सञ्चालन नभएमा दिउँसो ४ बजेसम्म अध्यापन गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । कक्षा १ देखि ७ तथा कक्षा ९ का आन्तरिक परीक्षाहरू पालिकास्तरबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । साथै विद्यालयमा ई–हाजिरी प्रणाली लागू गरिएको छ ।
शैक्षिक गुणस्तर खस्किएका विद्यालयहरूमा विशेष अभियान सञ्चालन गरी गुणस्तर सुधारको प्रयास गरिएको छ । शिक्षक, प्रधानाध्यापक तथा विद्यार्थीका लागि लगबुक कार्यक्रम लागू गरिएको छ। विद्यालयमा बालमैत्री डेस्क–बेन्च, पीटी सामग्री, विद्यार्थी अभिलेखसहितको हाजिरी तथा निरन्तर मूल्यांकन पुस्तिकाको व्यवस्था गरिएको छ । कक्षा ५ को परीक्षा पालिकास्तरबाट सञ्चालन गर्ने अभ्यासको समेत सुरुआत गरिएको छ ।

विषयगत समिति निर्माण गरी शिक्षकहरूबीच असल अभ्यास आदानप्रदान गर्ने प्रणाली लागू गरिएको छ । यसले सिकाइ उपलब्धि सुधार र शिक्षकहरूको पेशागत विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै गाउँ शिक्षा योजना अद्यावधिक गरी आगामी वर्षका लागि स्पष्ट शैक्षिक मार्गचित्र तयार गरिएको छ ।

एक वर्षको कार्यकालमा भएका यी सुधारात्मक तथा नवप्रवर्तनात्मक प्रयासहरूका लागि शिक्षा प्रमुख ढकालले गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, वरिष्ठ लेखा अधिकृत, प्रशासन शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, अभिभावक, पत्रकार तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

उनले आगामी वर्ष अझ विशेष कार्ययोजना, नवीन कार्यक्रम र गुणस्तरीय शिक्षाका थप अभियानसहित अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै सबै पक्षको निरन्तर सहयोग र साथको अपेक्षा गरेका छन् । बैजनाथको शिक्षा क्षेत्रलाई थप प्रभावकारी, आधुनिक र गुणस्तरीय बनाउन शिक्षा शाखा प्रतिबद्ध रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार