
डिल्ली शाही । बाँकेको कोहलपुरमा रहेका अधिकाँश डेन्टल क्लिनिकको नाममा ठगी धन्दा चलाएको पाइएको छ । नेपाल मेडिकल काउन्सिलको टिमले गरेको अनुगमनले डेन्टल क्लिनिकको नाममा ठगी धन्दा गरिरहेको खुलेको छ । पाँच वटा क्लिनिकमा दन्त चिकित्सक नै नराखी बिरामीको उपचार भइरहेको भेटिएको हो ।
यति मात्र होइन, स्वास्थ्य निकायबाट समेत आवश्यक सञ्चालन अनुमति नलिई सेवा दिइरहेको समेत खुलेको छ । कानुनअनुसार डेन्टल अस्पताल तथा क्लिनिक सञ्चालनका लागि आवश्यक अनुमति र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
अनुगमनका क्रममा कोहलपुर डेन्टल हस्पिटल, न्यू बाँके डेन्टल क्लिनिक, रामदेव डेन्टल क्लिनिक, स्माइल डेन्टल क्लिनिक र शुभकामना डेन्टल क्लिनिकमा चिकित्सक थिएनन् । फ्रेस डेन्टल क्लिनिक र पूजा डेन्टल क्लिनिकमा मात्र चिकित्सक भेटिएका थिए ।
सोमबार नेपाल मेडिकल काउन्सिलका सदस्य तथा अनुगमनका संयोजक अजय कुमार शाहको नेतृत्वमा आएको सो टोलिले कोहलपुरका डेन्टल क्लिनिकहरुको पर्दाफास गरिदियो ।
डा. शाहका अनुसार धेरै क्लिनिकमा चिकित्सक नभई डेन्टल हाइजिनिस्ट वा अन्य स्वास्थ्यकर्मीले बिरामी जाँच्ने, उपचार गर्ने, रुट क्यानल ट्रीटमेन्ट (आरसीटी) तथा सर्जरीसमेत गर्ने गरेको भेटिएको छ । डेन्टल हाइजिनिस्टलाई सामान्य दन्त सरसफाइ र चिकित्सकको सहयोगीको रूपमा काम गर्ने अधिकार भए पनि चिकित्सकसरह उपचार गर्ने कानुनी अधिकार छैन ।
अनुगमन टोलीले सम्बन्धित क्लिनिकहरूलाई एक हप्तामा योग्य चिकित्सकको व्यवस्था गर्न निर्देशन दिएको छ । साथै प्रतिवेदन काउन्सिलमा पेश गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अनुगमन टोलीका सदस्य डा. प्रतिक श्रेष्ठले जानकारी दिए ।
अनुगमनमा डा. सम्राट पराजुली, डा. विवेककुमार महत्तो, कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाही सहभागी थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्