परीक्षार्थीका मोबाइलको क्षतिपूर्ति माग्दै सिरहामा प्रदर्शन घोषणा




सिरहा । सिरहामा एसईई र कक्षा–१२ को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि सोमबार दिउँसो १२ बजे प्रदर्शन गरिनेछ । प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ ।

संयुक्त विद्यार्थी संगठनको नाममा सार्वजनिक गरिएको प्रचार सामग्रीमा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नारा समावेश गरिएको छ ।

मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थी माथिको दमन अन्त्य गर्न तथा पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो । अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहले भने, ‘प्रदर्शनको उद्देश्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै विद्यार्थीका माग सम्बोधन गर्न दबाब सिर्जना गर्नु हो ।’

जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा–१२ को परीक्षाका क्रममा परीक्षार्थीहरुबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेको थियो। प्रशासनले परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा यस्ता उपकरणको दुरुपयोग हुन नदिन उक्त कदम चालिएको जनाएको छ ।

प्रशासनका अनुसार परीक्षाका क्रममा सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो । ती सबै उपकरण हालै नष्ट गरिएको र बरामद सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।

एसईई र कक्षा १२ को परीक्षामा जफत मोबाइल नष्ट : कानुन व्यवसायीले उठाए प्रश्न

यसअघि मधेश प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइए कडा कारबाही गरिने चेतावनी दिएकी थिइन् । सोही आधारमा जिल्ला परीक्षा समन्वय समिति सिरहाले मोबाइल व्यवस्थापनका लागि छुट्टै उपसमिति गठन गरी बरामद उपकरण नष्ट गर्ने निर्णय गरेको जनाएको छ ।

परीक्षार्थीहरुबाट बरामद मोबाइल र स्मार्टवाचहरु पानी भरिएको ड्रममा डुबाइएको थियो । शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले जिल्ला प्रहरी कार्यालय परिसरमा मोबाइलहरू २४ घण्टा पानीमा डुबाएर राखेपछि पूर्ण रूपमा प्रयोग गर्न नसकिने बनाई फुटाएर नष्ट गरेको जनाएको छ ।

उपसमिति संयोजक यादवका अनुसार मोबाइललाई पुन: प्रयोग हुन नसक्ने अवस्थामा पुर्‍याएर नष्ट गर्ने निर्णय गरिएको थियो । यद्यपि, प्रशासनको उक्त कदमप्रति अभिभावक, कानुन व्यवसायी तथा विद्यार्थी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै क्षतिपूर्ति र न्यायको माग गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार