
कोहलपुर । कोहलपुर नगरपालिकाले नगरवासीको स्वास्थ्य अवस्थाको पहिचान, उपचार तथा व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिरहेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट हालसम्म २ हजार ४ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सञ्चालन भइरहेको शिविर मिति २०८३ वैशाख १७ गतेदेखि नगरपालिकाका विभिन्न वडामा सञ्चालन हुँदै आएको छ ।
नगरपालिकाका अनुसार हालसम्म १२ वटा वडामा शिविर सम्पन्न भइसकेको छ । शिविरमा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी विशेष रूपमा नसर्ने रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ । १ हजार ८ सय ९४ जनाको स्वास्थ्य परीक्षण गर्दा २ सय २५ जनामा उच्च रक्तचाप र १ सय १० जनामा मधुमेहको समस्या पहिचान गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीले बताए ।
ठकुरीका अनुसार १ हजार ५ सय ८६ जनाले मेडिकल ओपिडी सेवा लिएका छन् । परीक्षणका क्रममा ३१ जनामा थाइराइड, १ सय २२ जनामा बाथरोग तथा ग्यास्ट्राइटिस, दम, श्वासप्रश्वासलगायत अन्य नसर्ने रोगहरू देखिएको र आवश्यक परेकाहरूलाई थप उपचारका लागि प्रेषणसमेत गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीले बताए ।
शिविरअन्तर्गत २ सय ७८ जनाले भिडियो एक्स–रे सेवा लिएका छन् । जसमध्ये २७ जनामा मिर्गौलाको पत्थरी, १५ जनामा अन्य मिर्गौला सम्बन्धी समस्या, ५ जनामा पित्तथैलीको पत्थरी, २८ जनामा पाठेघर सुनिने तथा ४ जनामा अन्य पाठेघर सम्बन्धी समस्या पहिचान भएको छ ।
महिलाहरूका लागि विशेष स्वास्थ्य सेवाअन्तर्गत १ हजार १ सय २२ जनाको स्तन क्यान्सर परीक्षण गरिएकोमा ३० जना शंकास्पद बिरामीलाई थप परीक्षणका लागि प्रेषण गरिएको छ ।
यस्तै ८ सय जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा २४ जनामा पोजेटिभ र ८० जनामा शंकास्पद अवस्था देखिएपछि थप परीक्षणका लागि सिफारिस गरिएको ल्याव टेक्निसियन दिपक शर्माले जानकारी दिए ।
यस्तै ४ सय ४ जनालाई विभिन्न स्वास्थ्य समस्यासम्बन्धी परामर्श तथा उपचार सेवा प्रदान गरिएको र हालसम्म शिविरबाट कुल २ हजार ४ सय २२ जना लाभान्वित भएका छन् । जसमध्ये २ हजार ४९ महिला र ३ सय ७३ पुरुष रहेका छन् ।
नगरपालिकाले जेठ २० गते वडा नं. २ को आधारभूत स्वास्थ्य केन्द्र, जेठ २३ गते वडा नं. १ स्थित कृष्ण माध्यमिक विद्यालय तथा जेठ ३० गते वडा नं. ११ मा रहेको नगर अस्पतालमा शिविर सञ्चालन हुने भएकोले तोकिएको मिति, स्थान र समयमा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्