मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन परिषद्को बैठक सोमबार सम्पन्न




सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन परिषद्को बैठक सोमबार सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति तथा परिषद्का अध्यक्ष प्रा. डा. नारायणप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति, योजना तथा कार्यक्रम अनुरुप बजेट सिलिङ आवश्यक छलफल सहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडी सहित परिषद्का सदस्य तथा आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो । परिषद् सदस्यका रूपमा रहेका विभिन्न ग्र्याजुएट स्कूलका डीनहरू, विज्ञ सदस्य तथा आमन्त्रित प्राध्यापक कर्मचारीहरूले विश्वविद्यालयको समग्र विकासलाई केन्द्रमा राख्दै योजना प्राथमिकीकरण, आय–व्यय सन्तुलन, स्रोत व्यवस्थापन तथा कार्यान्वयन पक्षलाई थप वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण सुझावहरू राखे ।

बैठकका अध्यक्ष उपकुलपति प्रा. डा. पौडेलले उपलब्ध स्रोतसाधन र सम्भावित स्रोतहरुलाई दृष्टिगत गरी यथार्थपरक एवम् परिणाममुखी बजेट सिलिङ तोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उनले प्रस्तावित कार्यक्रमहरूले शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन र संस्थागत सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे
बैठकमा रजिष्ट्रार सहप्रा. डा. अयडीले धरातलीय यथार्थतालाई मनन् गरी हाम्रा नीति, कार्यक्रम तथा बजेट केन्द्रित हुनुपर्ने बताए ।
बैठकको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक तथा परिषद्का सदस्यसचिव डा. विष्णुकुमार खड्काले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार