प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीको कडा आपत्ति




काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहितविपरीत र राष्ट्रिय स्वाभिमानमाथिको प्रहार भएको टिप्पणी गरेको छ। पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी प्रेस वक्तव्यमा प्रधानमन्त्रीले “मैले प्रधानमन्त्री भएपछि यहाँ पाए नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति तीव्र विरोध जनाइएको हो।

वक्तव्यमा उक्त अभिव्यक्तिले प्रधानमन्त्री भारतीय विस्तारवादप्रति नरम र राष्ट्रहितप्रति गैरजिम्मेवार देखिएको आरोप लगाइएको छ। पार्टीले विगतमा पनि वर्तमान सरकार विदेशी शक्तिको प्रभावमा बनेको दाबी गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको पछिल्लो भनाइले आफ्नो आशंकालाई थप पुष्टि गरेको जनाएको छ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट तथा समग्र सरकारी गतिविधिहरूले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली श्रमजीवी जनताको हितको संरक्षण गर्न नसक्ने दाबी गरेको छ। वक्तव्यमा वर्तमान सरकारबाट देशको राष्ट्रिय हित सुरक्षित हुन नसक्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री नेतृत्वको सरकार विघटन गरी स्वतन्त्र र संयुक्त राष्ट्रिय सरकार गठन गर्नुपर्ने माग गरिएको छ।

पार्टीले देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध भएर राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत बलियो संयुक्त मोर्चा निर्माण गर्न आह्वान समेत गरेको छ। नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र जनताको अधिकारको रक्षाका लागि साझा संघर्ष आवश्यक रहेको पार्टीको भनाइ छ।

जेठ १८ गते जारी वक्तव्यमा पार्टीले राष्ट्रहितका विषयमा सरकार गम्भीर बन्नुपर्ने र विवादास्पद अभिव्यक्तिबाट राष्ट्रिय भावना कमजोर नबनाउन चेतावनी दिएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार