
काेहलपुर । शिक्षा विकासका लागि राज्यले हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेको छ । विद्यालय भवन निर्माण, छात्रवृत्ति, दिवा खाजा, निःशुल्क पाठ्यपुस्तकदेखि विभिन्न शैक्षिक अभियान सञ्चालन भइरहेका छन् । तर यति धेरै प्रयासका बाबजुद पनि विद्यालय छोड्ने अर्थात् ‘ड्रपआउट’ हुने विद्यार्थीको समस्या अझै गम्भीर रूपमा देखिएको छ ।
शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि ८ सम्म भर्ना भएका तथा विद्यालय छोडेका विद्यार्थीहरूको सार्वजनिक तथ्यांकले सल्यान जिल्लाको शिक्षा क्षेत्रमा चुनौती कायमै रहेको स्पष्ट देखाएको छ । जिल्लाका १० स्थानीय तहमा गरिएको अध्ययनअनुसार सयौँ विद्यार्थीले पढाइ बीचमै छोडेका छन् ।
तथ्यांकअनुसार सबैभन्दा बढी विद्यार्थी विद्यालय छोड्ने स्थानीय तह बागचौर नगरपालिका बनेको छ । यहाँ कुल ५,१२२ विद्यार्थी भर्ना हुँदा १२८ जना विद्यार्थी विद्यालयबाट बाहिरिएका छन् । त्यस्तै शारदा नगरपालिका मा ६,०२७ विद्यार्थीमध्ये ११९ जना ड्रपआउट भएका छन् । बनगाड कुपिण्डे नगरपालिकामा ६२, दार्मा गाउँपालिकामा ४८ र कुमाख गाउँपालिकामा ४८ विद्यार्थीले विद्यालय छोडेका छन् ।
समग्र जिल्लाको तथ्यांक हेर्दा ३५ हजार ४ सय ४४ विद्यार्थी भर्ना भएकोमा ५ सय ५७ जना विद्यार्थीले पढाइ बीचमै छोडेका छन् । प्रतिशतका आधारमा हेर्दा कुल ड्रपआउट दर १ दशमलव ५४ प्रतिशत रहेको छ । संख्या कम जस्तो देखिए पनि यसले सयौँ बालबालिकाको भविष्य अन्योलमा परेको संकेत गर्छ ।
विशेषगरी छात्रको तुलनामा छात्राहरूको अवस्था कतिपय स्थानीय तहमा अझै संवेदनशील देखिएको छ । कतै छात्राहरू बढी विद्यालय छोडिरहेका छन् भने कतै छात्रहरू बढी प्रभावित छन् । यसले शिक्षा क्षेत्रमा लैंगिक असन्तुलन अझै विद्यमान रहेको देखाउँछ ।
किन बढ्दैछ ड्रपआउट ?
शिक्षाविद्हरूका अनुसार ड्रपआउट हुनुका पछाडि धेरै कारण छन् । ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै अभिभावक अझै पनि शिक्षाप्रति पूर्ण रूपमा सचेत हुन सकेका छैनन् । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका विद्यालयभन्दा श्रममा बढी संलग्न हुने गरेका छन् ।
कतिपय बालबालिका घरायसी काम, कृषि, पशुपालन तथा मजदुरीमा लाग्न बाध्य छन् । अभिभावक रोजगारीका लागि भारत तथा अन्य मुलुक जाने र बालबालिका हेरचाहविहीन हुने अवस्था पनि बढ्दो छ । यसले विद्यालयमा नियमित उपस्थिति घटाउने र अन्ततः पढाइ नै छोड्ने अवस्था सिर्जना गर्छ । बालविवाह अर्को गम्भीर समस्या हो । विशेषगरी किशोरीहरू विवाहपछि विद्यालय फर्किन नसक्ने अवस्था व्यापक छ । कतिपय क्षेत्रमा महिनावारीसम्बन्धी सचेतनाको कमी, सुरक्षित शौचालय अभाव तथा सामाजिक संकोचका कारण पनि छात्राहरू विद्यालयबाट टाढिने गरेका छन् ।
त्यसैगरी विद्यालयमा गुणस्तरीय शिक्षण अभाव, शिक्षकको अनियमितता, सिकाइ वातावरण कमजोर हुनु तथा विद्यार्थीमैत्री शिक्षण पद्धति नहुनुले पनि विद्यार्थीमा पढाइप्रति रुचि घट्दै गएको शिक्षाविद्हरू बताउँछन् ।
कालीमाटीको सकारात्मक संकेत
जिल्लाका अन्य स्थानीय तहको तुलनामा कालीमाटी गाउँपालिका मा ड्रपआउट दर तुलनात्मक रूपमा कम देखिएको छ । यहाँ कुल ३ हजार ५ सय ४४ विद्यार्थीमध्ये २८ जनाले मात्र विद्यालय छोडेका छन् । स्थानीय शिक्षा शाखाका अनुसार विद्यालय र अभिभावकबीच नियमित समन्वय, घरदैलो कार्यक्रम, शिक्षकको निगरानी तथा विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले सकारात्मक प्रभाव पारेको हो । यसले उचित व्यवस्थापन, समुदायको चासो र नियमित अनुगमन भएमा ड्रपआउट समस्या न्यूनीकरण गर्न सकिने स्पष्ट देखाएको छ ।
राज्यको लगानी प्रभावकारी बनाउने चुनौती
नेपाल सरकारले विद्यालय शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । दिवा खाजा, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, पोशाक सहयोग तथा विद्यालय भौतिक पूर्वाधार निर्माणमा ठूलो बजेट खर्च भइरहेको छ । तर ग्रामीण क्षेत्रमा ती कार्यक्रमको प्रभाव अपेक्षित रूपमा देखिन सकेको छैन । कतिपय विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ भने कतै शिक्षक दरबन्दी भएर पनि गुणस्तरीय पढाइ हुन सकेको छैन ।
शिक्षा क्षेत्रमा लगानी मात्र पर्याप्त नहुने, त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विज्ञहरू बताउँछन् । विद्यालयमा विद्यार्थी टिकाइराख्न व्यवहारिक शिक्षा, सीपमूलक सिकाइ तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
अब के गर्नुपर्छ ?
ड्रपआउट समस्या समाधानका लागि स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक देखिन्छ । विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः विद्यालयमा फर्काउने अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
विद्यार्थीको नियमित उपस्थितिमा निगरानी, कमजोर आर्थिक अवस्था भएका परिवारलाई सहयोग, बालविवाह नियन्त्रण तथा ग्रामीण क्षेत्रमा शैक्षिक सचेतना विस्तार गर्न सकेमा विद्यालय छोड्ने दर घटाउन सकिने शिक्षा सरोकारवालाहरूको भनाइ छ ।
त्यसैगरी विद्यालयलाई केवल औपचारिक पढाइको केन्द्र नभई विद्यार्थीमैत्री, सिर्जनात्मक र व्यवहारिक सिकाइको थलो बनाउनुपर्ने आवश्यकता छ । सल्यानको पछिल्लो तथ्यांकले शिक्षा क्षेत्रमा केही सुधार भए पनि चुनौती अझै बाँकी रहेको स्पष्ट देखाएको छ । विद्यालयमा भर्ना गराउनु मात्र उपलब्धि होइन, विद्यार्थीलाई निरन्तर पढाइमा टिकाइराख्नु नै वास्तविक सफलता हुने शिक्षा विज्ञहरूको निष्कर्ष छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्