बाँके–१ मा चुनावी सरगर्मी: गौडेलमय बन्दै चुनावी वातावरण, मतदाता उत्साहित




काेहलपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेण्डा र प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्। यसैक्रममा नारायण प्रसाद गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री समेत सक्रिय रूपमा घरदैलो अभियानमा जुटेका छन्।

सोमबार बिहान कोहलपुर नगरपालिका–१० र ८ मा आयोजित घरदैलो कार्यक्रममा गौडेलसँगै खत्री पनि मतदाताका ढोकाढोकामा पुगे। स्थानीयसँग हातेमालो गर्दै उनीहरूले निर्वाचन प्रतिबद्धता सुनाए र सुझाव–गुनासा संकलन गरे। वडा कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। कार्यक्रमको समग्र वातावरण उत्साहपूर्ण देखिन्थ्यो, जसले चुनावी माहोल क्रमशः गौडेलमय बन्दै गएको संकेत गरिरहेको थियो।

घरदैलोका क्रममा स्थानीय बासिन्दाहरू घरबाहिर निस्केर उम्मेदवारलाई स्वागत गर्दै आफ्ना समस्या राखिरहेका थिए। रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र पूर्वाधार विकास मुख्य एजेण्डाका रूपमा उठाइएको देखियो। धेरै मतदाताले अबको नेतृत्वले भाषणभन्दा परिणाम दिनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

खत्रीले गौडेल लामो समयदेखि क्षेत्र नं. १ का जनताको सुख–दुःखमा साथ दिँदै आएका नेता भएको उल्लेख गरे। “गौडेलजी यहाँका जनतासँग प्रत्यक्ष रूपमा जोडिनुभएको व्यक्ति हो। अहिले उम्मेदवार बनेपछि स्थानीयले आफ्नै प्रतिनिधि चुनावमा उठेको अनुभूति गरेका छन्,” उनले बताए । उनका अनुसार पार्टीभित्रको एकता र कार्यकर्ताको सक्रियता यसपटक निर्णायक बन्ने विश्वास गरिएको छ।

गौडेलले आफ्नो सम्बोधनमा जनअपेक्षा अनुरूप परिणाममुखी काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। विकास र समृद्धिलाई केन्द्रमा राख्दै समावेशी तथा उत्तरदायी नेतृत्व प्रदान गर्ने उनको दाबी छ।

यस्तै, कोहलपुर नगरपालिका–१० का सभापति मेघनाथ भट्टराईले “बदलिएको काँग्रेस, देश बदल्ने अठोट” नारासहित पार्टी जनतामाझ गएको उल्लेख गर्दै मतदातामा नयाँ उत्साह देखिएको बताए। “जनताले अब स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमतायुक्त नेतृत्व खोजेका छन्। काँग्रेसले त्यो जिम्मेवारी वहन गर्ने अठोट लिएको छ,” उनले भने।

समग्रमा, घरदैलो अभियानले स्थानीय तहमा प्रत्यक्ष संवाद बढाएको देखिन्छ। चुनाव नजिकिँदै जाँदा यस्ता कार्यक्रमहरूले मतदातासँगको सम्बन्ध सुदृढ गर्दै चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाइरहेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार