
कोहलपुर । कोहलपुर -११ मा रहेकाे सार्वजनिक गुठी कोहलपुर माध्यमिक विद्यालयकाे ४ कोठे नयाँ भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद थारूले एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य थारूले आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीले समेत गुणस्तरीय शिक्षा पाइरहेको विद्यालयप्रति आफूलाई विशेष माया र मोह रहेको बताए। अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको यस विद्यालयले विगतदेखि उत्कृष्ट नतिजा ल्याउँदै आएको उल्लेख गर्दै उनले यस्ता विद्यालयलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

‘गरिब तथा निम्न आय भएका अभिभावकका बालबालिकाले राम्रो शिक्षा पाइरहेका छन्, यही कुराले मलाई धेरै प्रेरित गरेको हो,’ उनले भने, ‘समुदायले राम्रो काम गरिरहेको ठाउँमा सबैले सहयोग गर्ने भावना विकास गर्नुपर्छ।’ उनले आगामी दिनमा समेत विद्यालयको शैक्षिक तथा भौतिक विकासमा आफू सकारात्मक रहेको बताए।
भवन निर्माणको जिम्मा कुमार निर्माण सेवाले लिएको छ। निर्माण व्यवसायी हरिलाल विश्वकर्माले असारभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विद्यालयका प्रअ शंख प्रसाद न्यौपानेले विद्यालयप्रति देखाइएको सहयोगले विद्यार्थी, अभिभावक र शिक्षकमा नयाँ उत्साह थपिएको बताए।
यस्तै विव्यस अध्यक्ष झगु गिरी तथा गुठी सञ्चालक समिति अध्यक्ष नारायण प्रसाद लम्सालले विद्यालयको विकासमा सबै पक्षको साथ आवश्यक रहेको उल्लेख गरेका थिए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्