चौथो कोहलपुर गोल्डकपको उपाधि रेसिङ साहारालाई




कोहलपुर । चौथो कोहलपुर गोल्डकप–२०८३ को उपाधि आयोजक कोहलपुर रेसिङ साहारा क्लबले जितेको छ ।

शनिबार कोहलपुर–२ स्थित कोहलपुर रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै आयोजक टोली पहिलो पटक च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

खेल सुरु भएको पाँचौँ मिनेटमै कोहलपुर रेसिङ साहारा क्लबका चेतन चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै नेपाल पुलिस क्लबका सञ्जिव लामाले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो ।

पेनाल्टीमा पनि बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा कोहलपुर रेसिङ साहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दीप केसी र सुजन मगरले गोल गर्न सफल भए । नेपाल पुलिस क्लबका राम वाजी, सञ्जिव लामा र हेमन्त श्रेष्ठले मात्रै गोल फर्काउन सके ।

विजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद आठ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले चार लाख रुपैयाँ हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी कोहलपुर रेसिङ साहारा क्लबका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगर घोषित हुँदै ५१ हजार रुपैयाँ प्राप्त गर्नुभयो । वैशाख १९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख २६ गते शनिबार