बागेश्वरी एकेडेमी कोहलपुरमा जिल्लास्तरीय तेक्वान्दो च्याम्पियनसिप शुरु




कोहलपुर । बाँकेको कोहलपुर–१० चटारस्थित बागेश्वरी एकेडेमीमा शनिबारदेखि जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु भएको छ। “संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित प्रतियोगितामा जिल्लाभरका ५९ डोजाङका ४ सय ५० भन्दा बढी खेलाडी सहभागी छन्। प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख आचार्यले निजी क्षेत्रबाट यस्ता खेलकुद कार्यक्रम आयोजना हुनु बालबालिकाको प्रतिभा र व्यक्तित्व विकासका लागि सकारात्मक पहल भएको बताए। विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकीले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र आत्मरक्षाको सीप विकास गर्ने भएकाले विद्यालयले यसलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता विद्यालय परिसरका तीन खेल क्षेत्रमा भइरहेको छ। प्रतियोगिताको सम्पूर्ण खर्च विद्यालयले व्यहोरेको जनाएको छ। उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरिनेछ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, सुरक्षा निकायका प्रतिनिधि, खेलकुदकर्मी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार