सुर्खेत, चैत १३ गते । मध्यपश्चिम विश्वविद्यालय र नेपाल स्थित अष्ट्रेलियन दूतावासका प्रतिनिधि मण्डल बीच शुक्रवार वीरेन्द्रनगर, सुर्खेतमा शिष्टाचार भेटसँगै शैक्षिक सहकार्यका लागि अर्थपूर्ण छलफल सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बीच मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र अष्ट्रेलियन राजदुतावासका उपप्रमुख ग्रेग क्लेमले दुई देशबीचको सम्बन्ध निकै पुरानो र सुमधुर रहेको भन्दै शैक्षिक सहकार्यका माध्यमबाट आपसी सम्बन्धलाई अँझ नयाँ उचाइमा विकास गर्नेमा जोड दिए ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उपप्रमुख ग्रेग र दूतावासका सार्वजनिक मामिला अधिकृत सन्जना प्रधानको स्वागतसँगै आयोजित कार्यक्रमको अध्यक्षता गरेका उपकुलपति प्रा. डा. गौतमले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने प्रयास तीव्र पारिएको उल्लेख गरे । उनले मध्यपश्चिम विश्वविद्यालयले गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न प्रतिबद्ध रहेकोमा जोड दिए ।
गत वर्ष अष्ट्रेलियन राजदूतलाई यही हलमा स्वागत गरेको स्मरण गर्दै उपकुलपति गौतमले हाम्रो शृङ्खलाबध्द भेटको जगमा दूतावाससँगको सहकार्य अघि बढे विद्यार्थी, शिक्षक कर्मचारी र अनुसन्धानकर्ताका लागि शैक्षिक अवसर सृजना हुने विश्वास व्यक्त गरे ।

उपकुलपति गौतमले सांस्कृतिक पर्व चैते दशैं अन्तर्गत रामनवमीसँगै संयोगवश ताजा जनादेशबाट आजै नियुक्त हुनुभएका कुलपति र सहकुलपति सहितको टीमलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा अष्ट्रेलियन दूतावासका उपप्रमुख ग्रेग क्लेमले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई शैक्षिक सहकार्य मार्फत थप सुदृढ बनाउन सकिने धारणा व्यक्त गर्दै अष्ट्रेलियाले शिक्षा क्षेत्रलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण आधारको रूपमा लिएको बताए । उनले ज्ञान, सीप र अनुसन्धान आदान–प्रदान मार्फत दुवै पक्षलाई लाभ पुग्ने गरी अन्य विश्वविद्यालयमाझैं उच्च शिक्षा, प्राविधिक तालिम र अनुसन्धान साझेदारीका दीर्घकालीन सहकार्यको सम्भावना पहिल्याउनुपर्ने आवश्यकता औंल्याए ।
रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले स्वागत मन्तव्य राख्दै दुई देश बीचको सम्बन्ध मजबुत बनाउन हामीबीचको सहकार्यले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
सो अवसरमा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयका शैक्षिक, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे प्रस्तुतिकरण गरे । योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले सञ्चालन गरेको कार्यक्रम विभिन्न ग्र्याजुएट स्कूलका डीनहरु प्रा. डा. विनोद वश्याल, प्रा. चन्देश्वरप्रसाद श्रीवास्तव, सहप्रा. डा. पूर्णमान श्रेष्ठ, सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, सहप्रा. डा. दिपकराज अधिकारी लगायत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा खादा र बुक्कीद्वारा अतिथिहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रम समापन गर्नुपूर्व उपकुलपतिद्वारा मायाको चिनो प्रदान गरिएको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले कोहलपुर टुडे लाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्