Kohalpur Today Header Ads

कक्षाभरि झुसिल्किराः शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान




गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराका कारण हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँ दिँदा पठनपाठन प्रभावित भएको छ ।

विद्यालयको वरिपरि उतिसको जङ्गल छ । सुक्खा मौसम लागेपछि बिगत एक महिनायता उतिसमा लागेको झुसिल्किरा कक्षा कोठामा आएर बस्न थालेका छन् । शिक्षिका पवित्रा तामाङ भन्छिन्, “भन्दा सानो कुरा जस्तो लाग्छ, तर वरिपरिको उतिसको जङ्गलबाट आएको झुसिल्किराले कक्षाको भुइँ, डेक्स, बेञ्च, जस्ताको छानो, भित्ता कतै खालि छैन ।”

LIfe Ok

माघको अन्तिम सातादेखि झुसिल्किरा लागेर शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान भएका छन् । उनीहरुको जीउभरी डाबर उठेको छ । सबैले एलर्जीको औषधी खाँदैआएका छन् ।

“रातभरि कन्याएर सुत्न सकिँदैन । विद्यार्थीको बिजोग छ”, शिक्षिका तामाङले भनिन् । झुसिल्किराको झुस बिझेर बालबालिकाले जीउभरी तेल घसेर आउने गरेका उनी बताउँछिन् ।

कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीका लागि ओछ्याएको कार्पेट झुसिल्किराले ढाकेपछि कक्षाकोठाबाट हटाइएको शिक्षिका तामाङको भनाइ छ । विद्यार्थीलाई पुस्तकालयमा लगेर राखिएको उनले बताइन । “हावाहुरी चल्न थालेपछि झुस उडेर आँखामा पर्ने डर रहन्छ”, उनले भनिन , “समस्या समाधान गरिदिन शिक्षा शाखा र गाउँपालिकाका जनप्रतिनिधिलाई गुनासो गरेका थियौँ । विषादी प्रयोग गर्न हुँदैन भन्ने सुझाव पायौँ । अवस्था उस्तै छ ।”

नागरिकबाट सभार

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार