
बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँके क्षेत्र नम्बर १ मा चुनावी अभियान तीव्र पारिएको छ । यसै क्रममा कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा बिहानैदेखि घरदैलो अभियान सञ्चालन गरिएको छ ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स)ले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेण्डा प्रस्तुत गरेका छन् । घरदैलो अभियानसँगै चप्परगौडी बजार परिक्रमा समेत गरिएको थियो ।
अभियानका क्रममा स्थानीय बासिन्दा, व्यापारी तथा युवाहरुको उल्लेख्य सहभागिता देखिएको थियो । उपस्थित जनसमुदायले तारा चुनाव चिन्हप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने संकेत दिएका छन् ।
स्थानीयका अनुसार यस क्षेत्रका मतदातामा नयाँ नेतृत्वप्रति आकर्षण बढ्दो छ । लामो समयदेखि स्थापित नेताहरूको विकल्प खोज्दै युवा तथा पहिलोपटक चुनावी मैदानमा उत्रिएका उम्मेदवारप्रति चासो बढेको उनीहरूको भनाइ छ ।
विशेषगरी युवा पुस्ता तथा जेनेरेसन–जेडका अगुवाहरूले स्वच्छ छवि भएका, अहिलेसम्म कुनै पनि सार्वजनिक पद धारण नगरेका जुझारु युवा नेतालाई जिताउनुपर्ने आवाज उठाएका छन् । उनीहरूले विकास, रोजगारी र पारदर्शितालाई प्राथमिकता दिने नेतृत्व आवश्यक रहेको बताएका छन् ।
चुनावी माहोल हेर्दा बाँके क्षेत्र नम्बर १ मा तारा चुनाव चिन्हप्रति समर्थन बढ्दै गएको देखिएको छ । अभियानमा देखिएको उत्साह र जनसमर्थनका आधारमा यस क्षेत्रमा तारा चिन्हले जित हासिल गर्ने दाबी समर्थकहरूले गरेका छन् । आगामी निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूबीच प्रतिस्पर्धा थप चर्किने अपेक्षा गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्