कविता : शिर्षक म मजस्तै




म जस्तो छु,
छैन अरूअरू जस्तो,
यो जस्तो, त्यो जस्तो
किन भन्छौ?
म कोही जस्तो होइन,
म आफ्नै अस्तित्वमा,
म मै जस्तो छु ।

नाक अलग,
आँखा अलग,
ओठ अलग
र अलग हात र पाखुरा पनि,
हो सबै आफ्नै ढङ्गका।
म कसरी ऊ जस्तो?
म कुनै प्रतिलिपि होइन,
म मै जस्तो छु ।

मेरो उचाइ फरक,
सोचाइ फरक,
हिडाइ, बसाइ र बोलाइ फरक,
फरक मेरो हाँसो अनि मौनता पनि,
हो सबै आफ्नै शैलीका ।
म कसरी ऊ जस्तो?
म आत्मस्वरूपमा,
म मै जस्तो छु ।

उसको लवाइ अर्कै,
मेरो लवाइ अर्कै,
ऊ आफ्नै तरिकाले खान्छ,
म आफ्नै तरिकाले खान्छु,
उसले आफ्नै बाटो पढ्छ,
म आफ्नै बाटो पढ्छु ।
भिन्नतालाई लिएरै
जीवन बन्छ अनौठो ।

ऊ घरमै पुल्पुलिएको,
म सङ्घर्षमा ढुल्मुलिएको ।
मलाई मिहिनेतको मूल्य थाहा छ,
उलाई रहरको स्वाद थाहा छ ।
तर, यसर्थ म ऊ होइन,
किनकि म अद्वितीय छाँया,
अद्वितीय स्वर,
अद्वितीय अस्तित्व
यसर्थ म मै जस्तै छु।

सुरेश चंदारा वागेश्वरी बहुमुखी क्याम्पस बिएड आठौ सेमेस्टर

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार