कृष्ण कुमार शाही, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयमा पहिलोपटक Research Ethics Review Board गठन गरिएको छ । विश्वविद्यालय भित्र र बाहिर सञ्चालन हुने विभिन्न अनुसन्धान परियोजना तथा प्राज्ञिक अध्ययन, अनुसन्धानलाई नैतिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप व्यवस्थित गर्दै अनुसन्धान अनुशासन कायम गर्ने उद्देश्यले उक्त बोर्ड गठन गरिएको हो । गठन पश्चात् उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको समुपस्थितिमा बोर्डको पहिलो बैठक आइतवार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ ।

बैठकमा विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने अनुसन्धान प्रस्तावहरूको नैतिक मूल्याङ्कन, स्वीकृति प्रक्रिया, अनुसन्धानकर्ताको उत्तरदायित्व तथा दीर्घकालीन अनुसन्धान संस्कृति विकासका विषयमा गहन छलफल गरिएको थियो ।
बैठकलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. गौतमले विश्वविद्यालयमा अनुसन्धानको गुणस्तर अभिवृद्दि एवम् अनुसन्धान नैतिकताको प्रबर्द्धन गर्न अनुसन्धान सहमति, गोपनियतासँगै बौद्धिक सम्पत्तिको अधिकार स्थापित गर्न बोर्डको जन्म भएको बताए। उनले बोर्डद्वारा गरिने आगामी क्रियाकलापले राष्ट्रिय, अन्तरराष्ट्रिय रुपमा विश्वविद्यालयको प्रतिष्ठा बढाउन टेवा पुग्ने विश्वास व्यक्त गरे । उपकुलपति गौतमले नवगठित बोर्ड मार्फत विश्वविद्यालयको Academic Integrity मा टेवा पुग्नुका साथै अन्तरराष्ट्रिय स्तरका कतिपय जर्नलहरुले लेख प्रकाशनका लागि Ethical Consideration Clearence Certificate माग गर्ने प्रचलन बढ्दै गएको बेला बोर्ड सो कार्यका लागि समेत सहयोगीसिद्ध हुने र सरोकारवाला लाभान्वित हुने बताए ।
बैठकमा रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले यस किसिमको बोर्डको महत्वबोध गरेर गठन गरेको बताउँदै यसले सेवा दिनेलिने प्रक्रियामा बोर्डले विश्वविद्यालयका विद्यमान ऐन, नियमसँग तादात्म्य हुने गरी आवश्यक कार्यविधि निर्माण गर्न सुझाए ।

बोर्डका अध्यक्ष डीन सह–प्रा. डा. राजन सुवालको अध्यक्षतामा सम्पन्न उक्त बैठकको सञ्चालन अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक एवम् बोर्डका सदस्य–सचिव डा. पुष्पराज आचार्यले गरे ।
नवगठित Research Ethics Review Board मा सहप्रा. डा. करणसिंह धामी, सहप्रा. विनयकुमार झा, उपप्रा. डा.लक्ष्मीप्रसाद आचार्य उपप्रा. डा. ऐश्वर्यप्रसाद ढकाल र उपप्रा. डा. भीमबहादुर खड्का सदस्य रहेको विश्वविद्यालयका अधिकृत एवम् सूचना अधिकारी शेरबहादुर केसीले कोहलपुर टुडे लाई जानकारी दिए ।
मध्यपश्चिम विश्वविद्यालयमा पहिलोपटक गठन गरिएको यस बोर्डले अनुसन्धानको गुणस्तर अभिवृद्धि, अनुसन्धानकर्ताको अधिकार संरक्षण तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसारको अनुसन्धान प्रणाली विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्