समाजको आवश्यकता र श्रम बजारको माग अनुरुपको जनशक्ति उत्पादन गर्ने योजना आजको अपरिहार्यता: शर्मा




सुदाम शर्मा, कर्णाली प्रदेश ।

विश्वविद्यालयको रणनीतिक योजना निर्माणका लागि सुझाव संकलन गर्न सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयको आयोजनामा मंगलवार विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माण सम्बन्धी सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम नारायण बहुमुखी क्याम्पस दैलेखमा सम्पन्न गरेको हो ।


मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा. विष्णुकुमार खड्काको अध्यक्षतामा सो अन्तरक्रिया कार्यक्रम गहन छलफल गर्दै सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष एवम् दैलेख-१ बाट निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले समाजको आवश्यकता एवम् श्रमबजारको माग अनुरुप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना निर्माण गर्नुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रमा उत्पन्न चुनौती र सम्भावनाबारे चर्चा गर्दै पूर्व सांसद शर्माले राष्ट्रिय पूँजी निर्माणमा योगदान गर्ने शिक्षा प्रणालीको अपरिहार्यतामा जोड दिएका हुन ।

कार्यक्रमका अध्यक्ष डा. खड्काले आफ्नो गृहजिल्ला स्थित क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावहरू विश्वविद्यालयको आगामी रणनीतिक योजनामा समेट्ने वाचा गरे । उहाँले विद्यार्थीहरुलाई झिकाउने, सिकाउने, टिकाउने र बिकाउने गरी योजना निर्माण गरिने जानकारी सम्व्त दिए । कार्यकारी निर्देशक डा. खड्काले पुरानो ढर्राबाट क्याम्पस नचल्ने बताउँदै अस्तित्व रक्षाको लागि डाइनामिक बन्ने कि डाइनोसर बन्ने चुनौती विश्वविद्यालय सामु खडा भएको वताए  ।


कार्यक्रममा विशिष्ट अतिथि क्याम्पस अवस्थित नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा, विश्वविद्यालय योजना परिषद्का सदस्य समेत रहेका ग्र्याजुएट स्कूल अफ इन्जिनियरका डीन सहप्रा. डा. राजन सुवाल, क्याम्पस संचालक समितिका पूर्व अध्यक्षहरु टेकबहादुर खाँड, खड्कबहादुर सिंजापती, तेजबहादुर चन्द, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमरबहादुर सुनार, उक्त क्याम्पसका स्ववियु कोषाध्यक्ष सुष्मा शाही, सामुदायिक विद्यालयका प्रधानाध्यापकद्वय निरक तारामी र दानबहादुर थापा, निजी विद्यालयका विष्णु पोख्रेल, उपप्राध्यापकद्वय डबलबहादुर बुढा र पिताम्बर खड्का सहित वक्ता सबै सरोकारवालाहरुले नियमित तथा प्रविधिमैत्री कक्षा सञ्चालन, व्यवहारिक एवम् जीवनोपयोगी शिक्षाको आवश्यकता, क्याम्पसको विकास तथा विस्तारका लागि अवलम्बन गर्नुपर्ने उपायहरुलाई ध्यानमा राखी योजना ल्याउन सुझाव दिए ।


कार्यक्रममा टिपोटकर्ताको भूमिका विश्वविद्यालयको रणनीतिक योजना निर्माणका लागि गठित विभिन्न कार्यदलका सदस्यत्रय दबल बुढा, रुपा थापा र निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसीले गरेका थिए । क्याम्पस प्रमुख नरबहादुर शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पूर्व क्याम्पस प्रमुख सुरेन्द्र अधिकारीले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार