
नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले मिर्गौला पीडितका लागि थप चारवटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएपछि उपचार लिन आउने बिरामीलाई सहजता मिल्ने भएको छ ।
यसअघि अस्पतालमा रहेका ६ वटा मेसिनमार्फत तीनवटा सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस हुँदै आएको थियो । अब कुल १० वटा मेसिनमार्फत तीन सिफ्टमा दैनिक ३० जना बिरामीले सेवा लिन सक्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले बताए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुवेदीले मेसिन थप भएपछि डायलाइसिस सेवामा देखिएको भीड र पालो कुर्नुपर्ने समस्या धेरै घट्ने बिश्वास व्यक्त गरे । अहिले भने थप मेसिनले बिरामीलाई राहत दिएको छ । धेरै जनाको समयमै उपचार सम्भव भएको छ।´ डायलाइसिसका लागि पालो नपाउदा कतिपय बिरामीहरु महंगो रुपैयाँ तिरेर निजि अस्पतालबाट सेवा लिन बाध्य थिए ।
अस्पतालका नर्सिङ निरीक्षक बिना घलेका अनुसार तीमध्ये दुईवटा मेसिन विशेष रूपमा सेरोपोजेटिभ बिरामी (जस्तै हेपाटाइटिस र एचआईभी संक्रमित)का लागि छुट्याइएको छ । संक्रमण नियन्त्रण र संवेदनशीलताका दृष्टिले यी बिरामीलाई अलग्गै सुविधा दिइएको हो’-उनले भनिन् ।
डा. सुवेदीका अनुसार, स्वास्थ्य विभागबाट तीनवटा नयाँ मेसिन प्राप्त भएका हुन् भने एउटा मेसिन अस्पतालले आफ्नै स्रोतबाट मर्मत गरी सञ्चालनमा ल्याएको हो । साथै, पुराना बेडहरुको पनि मर्मत र सुधार गरिएको छ, जसले सेवा गुणस्तरमा थप सुधार ल्याएको छ । अस्पतालले डायलाइसिस वार्ड विस्तारसँगै एनआइसीयू (नवजात शिशु गहन उपचार इकाई) क्षेत्रका बेड पनि व्यवस्थित गरेको छ ।
भेरी अस्पतालले यसअघि पनि मिर्गौला उपचारका क्षेत्रमा प्रदेशमै भरपर्दो सेवा दिँदै आएको छ । अहिले मेसिन थप हुनु र बेडमा समेत सुधार गरिएसंगै अस्पतालमा डायलाइसिसको क्षमता र पहुँच दुवै गुणात्मक रूपमा सुधारिएको छ । यसरी, थप चारवटा डायलाइसिस मेसिनको सञ्चालनले भेरी अस्पताल प्रदेशमै मिर्गौला उपचारका लागि अझ सबल केन्द्रका रूपमा उभिएको छ । जसले बाँकेका मात्र नभएर बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका बिरामीलाई पनि ठूलो राहत दिने अपेक्षा गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्