लाइसेन्स नवीकरण सेवा छठपछि सुरु गर्ने यातायात व्यवस्था विभागको तयारी




काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा सञ्चालन गर्दै आएको विभागले छठपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक राजीव पोखरेलले आवश्यक मेसिन उपकरणहरुको प्रबन्ध मिलाइसकेकाले छठपछि सेवा सञ्चालन गर्ने बताए ।

उनले नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु नहुने बताए । छपाइ कार्ड र प्रिन्टर नयाँ खरिद गर्नुपर्ने भएकाले केही नयाँ लाइसेन्स वितरण गर्न अझै केही महिना लाग्ने उनको भनाइ छ ।

‘प्रिन्टर व्यवस्थापन लगायतका सबै प्रक्रिया पूरा गर्न कम्तिमा तीन महिना लाग्छ,’ उनले भने ।

विभागका अनुसार आगजनीका कारण क्षति पुगेको भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र नेपाल अटो मोबायल्स इम्पोर्ट्स तथा रङ्रोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने जनाएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार