कात्तिक २० र २१ गते भिटामिन तथा जुकाको औषधि खुवाइँदै




काठमाडौं । यही कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. विवेककुमार लालले ७५३ स्थानीय तहमा दुईदिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराए । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।

निर्देशक डा. लालले भने, “६ देखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलका साथै जुकाको औषधि खुवाइने छ ।”

महाशाखाकाअनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन् । -रासस

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मंगलबार