Kohalpur Today Header Ads

देउडा संस्कृतिको जगेर्नासँगै कृषि हाट बजारलाई समेत प्रोत्साहन




बैजनाथ  । “सानालाई माया गर्नु, ठुलालाई मान, संस्कृति र सभ्यता नै हाम्रो पहिचान” भन्ने मुल नाराका साथ देउडा साँस्कृतिक संरक्षण प्रतिष्ठान शाखा कार्यालय बैजनाथ–४ ले प्रत्येक शनिबार देउडा गीत–नृत्य कार्यक्रम गर्दै आएको छ।

प्रतिष्ठानका अध्यक्ष विष्णुकान्त आचार्यका अनुसार, कर्णालीका हुम्ला, जुम्ला, मुगु, बाजुरा, कालिकोट, दैलेख र जाजरकोटबाट बसाइँसराई गरी बैजनाथमा बसोबास गरेका नागरिकहरूको मुख्य सांस्कृतिक पहिचानका रूपमा रहेको देउडा गीत–नृत्य संरक्षणका लागि संस्था स्थापना गरिएको हो।

LIfe Ok

बैजनाथ–४ बानियाबारको पानी ट्याङ्कीस्थित कृषि हाट बजार क्षेत्रमा प्रत्येक शनिबार स्वतःस्फूर्त रूपमा लाग्ने देउडा मेलाले लोप हुँदै गएको सांस्कृतिक सम्पदालाई जोगाउने मात्र नभई, जमघट भएर आफ्ना पीडा–वेदना गीतमार्फत पोख्ने परम्परा पनि जगेर्ना गर्दै आएको छ।

यससँगै शनिबार सञ्चालन हुने कृषि हाट बजारमा स्थानीय कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि सामग्रीको व्यवसायिक कारोबार गर्न सकिने भएकाले यसलाई देउडा संरक्षणसँगै बजार विस्तारको अवसरका रूपमा लिइएको छ।

स्थानीय सरकारले “एक वडा, एक कृषि हाट बजार” अवधारणालाई सार्थक बनाउन बानियाबार र चिसापानीमा बजार तयारी गरिरहेको छ भने बैजनाथ–३ बैरहवामा हरेक शुक्रबार कृषि हाट बजार सुरु भइसकेको छ।

गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीका अनुसार, पालिकाले “किसानसँग पालिका प्रमुख” कार्यक्रमअन्तर्गत ठूलो बजेटमार्फत मल, बीउ, आधुनिक प्रविधि र सिँचाइमा ७० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। त्यस्तै, पशुपालनमा संलग्न किसानलाई माछाका भुरा, कुखुरा, बाख्रा, बंगुर र भैंसी व्यवसायिक रूपमा पालन गर्न समेत अनुदान दिइँदै आएको छ।

कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले किसानलाई उत्पादन–आधारित अनुदान दिन सक्ने हो भने बैजनाथ गाउँपालिका नजिकै भविष्यमा फलफूल, माछा, अण्डा, तरकारी र मासु उत्पादनमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरिन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार