बाँकेका तीन पालिका अझै साक्षर घोषणा हुन सकेनन

चैत मसान्त भित्र बाँके साक्षर पालिका घोषणा गर्न निर्देशन:  पौडेल

कोहलपुर ।

बाँकेका ८ पालिका मध्ये तीन पालिका अझै साक्षर घोषणा हुन सकेका छैनन । शुक्रबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजना, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको समन्वय र समुन्नत नेपालको सहकार्यमा साक्षर नेपाल वर्ष कार्यक्रम कार्यान्वयन सम्बन्धी स्थानीय तहका पदाअधिकारीहरु संगको अन्तरक्रिया कार्यक्रम भएको थियो । बाँकेका कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, जानकी र खजुरा पालिकाका साक्षर पालिका घोषणा भएका छन् तर तीन पालिका भने अझै साक्षर पालिका घोषणा हुन सकेका छैनन् ।

साक्षर पालिका घोषणा हुन बाँकी किन ?

साक्षर नेपाल वर्ष कार्यक्रम कार्यान्वयन सम्बन्धी स्थानीय तहका पदाअधिकारीहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश बक्ताहरुले साक्षर पालिका घोषण हुन बाँकी रहेका पालिकाको बारे चर्चा गरेका थिए । गैसस बाँकेका सदस्य सुर्यलाल यादवले पालिका र शिक्षा शाखाले डुडुवामा पालिकाका अध्यक्ष र उपाध्यक्षले कुनै चासो नदेखाएको बताए । ‘एन्जीयो आइन्जीयोहरुले सहयोग गर्छौ भनेका छौ’ उनले भने, ‘तर कुनै प्रतिक्रिया नै दिँदैनन् ।’ साक्षर बनाउन के के कस्तो कामहरु गर्नुपर्छ कुन कुन संग सहकार्य गरी काम गर्नुपर्छ भन्ने विस्तृत योजना बनाए पालिकामा पेस समेत गरेको उनको भनाई थियो ।

यस्तै खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल र कोहलपुर नगरपालिका प्रमुख रवि मिजार, नरैनापुर गाउँपालिकाका कुष्ण कुमार थारु, शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादव र अन्य पालिकाका शिक्षा प्रमुख र शिक्षक संगठनहरुले बाँकी रहेका पालिकाहरुलाई कुन सहयोग चाहिन्छ त्यो उपलब्ध गराई चैत मसान्त सम्म साक्षर पालिका घोषणा गर्न सबैले एकिबद्धता व्यक्त गरेका थिए ।

चैत मसान्त भित्र बाँके साक्षर पालिका घोषणा गर्न निर्देशन:  पौडेल

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक चुडामणी पौडेलले बाँकेलाई चैत मसान्त भित्र साक्षर पालिका घोषणा गर्न निर्देशन दिएका छन् । साक्षर नेपाल वर्ष कार्यक्रम कार्यान्वयन सम्बन्धी स्थानीय तहका पदाअधिकारीहरु संगको अन्तरक्रिया कार्यक्रम बोल्दै उनले सो निर्देशन दिएका हुन् । नेपालमा ५५ जिल्ला साक्षर पालिका घोषणा भैसकेको र अब ५६ जिल्लामा बाँके हुनुपर्नेमा उनको भनाई थियो । ‘साक्षर घोषणा हुँदैमा पुरा हुँदैन घोषणा भएका वडाहरुमा विशेष ध्यान दिनुहोला’ उनले भने, ‘जबसम्म सामाजिक र शिक्षाको विकास हुँदैन तबसम्म भौतिक संरचनाको विकासले केही उपलब्धी हुँदैन ।’ पहिलो खुट्कीलो भनेको शिक्षाको विकास भएको उनको दावी थियो ।

यस्तै जिल्ला समन्वय समितिको कार्यालय बाँकेका प्रमुख सजय कुमार श्रीवास्तवले आफु बसेको स्थान नै अहिलेसम्म साक्षर पालिका घोषणा गर्न नसक्दा लाज भएको प्रतिक्रिया दिएका थिए । कति खर्च लाग्ने हो त्यसको लागि जिसस कार्यालय जिम्मा लिन्छ भनेकै छौ उनले भने त्यति मात्र होइन, शिक्षक र अन्य पालिकाबाट शिक्षकको व्यवस्था गरी चैत मसान्त भित्र साक्षरता बनाउने लक्ष्य राखेका छौं ।

अझै साक्षर पालिका घोषणा गर्न प्रतिबद्धता जनाएका जिल्लाहरु

यस्तै ‘क’ समूहमा साक्षर घोषणा भएका जिल्लाहरु काभ्रेपलाञ्चोक, सङ्खुवासभा, उदयपुर, मोरङ, डडेलधुरा र बैतडी रहेका छन् भने ‘ख’ समूहमा साक्षर घोषणा गर्ने प्रतिबद्धता भएका जिल्लाहरु कैलाली, डोटी, बाँके काठमाण्डौं, कपिलबस्तु र ताप्लेजुङ रहेका छन् । यस्तै ‘ग’ समूहमा केही थप कक्षा आवश्यक देखिएका जिल्लाहरु मुगुु, जुम्ला, कालिकोट, अछाम, बझाङ, बाजुरा, कञ्चनपुर र महोत्तरी रहेका छन् भने ‘घ’ समूहमा सघन कक्षा सञ्चालन गर्नुपर्ने जिल्लाहरु धनुषा, रौतहट, सर्लाही, सिराह, सप्तहरी, बारा, पर्सा, सोलुखुम्बु, हुम्ला र डोल्पा रहेका छन् ।