भगवती पोख्रेल, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच आपसी सहकार्यका लागि प्रारम्भिक छलफल सम्पन्न भएको छ ।
विश्वविद्यालय व्यवसाय ईन्कुवेशन केन्द्र र कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बीच बुधवार युवा उद्यमशीलता, नवप्रवर्तन सम्बन्धी आगामी दिनमा एकापसमा गर्न सकिने सहयोग तथा सहकार्यका सन्दर्भमा केन्द्रित भई प्रारम्भिक छलफल सम्पन्न भएको हो । वीरेन्द्रनगर, सुर्खेत स्थित मन्त्रालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव रमेशकुमार गिरीको अध्यक्षतामा द्विपक्षीय छलफल सम्पन्न भएको थियो ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट गुणस्तर सुनिश्चितता निर्देशनालय तथा व्यवसाय इन्कुवेशन केन्द्रका कार्यकारी निर्देशक डा. सुशील कुमार शाही, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक डा. पुष्पराज आचार्य र प्रशासन अधिकृत शेरबहादुर केसीको समुपस्थिति रहेको उक्त छलफलमा मन्त्रालयका महाशाखा प्रमुख खिमानन्द अर्याल सहित विभागीय कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
छलफलमा कार्यकारी निर्देशक डा. शाहीले इन्कुवेशन केन्द्रले गरेको कार्यप्रगति एवम् कार्ययोजनाबारे जानकारी गराउँदै विश्वविद्यालय ब्यबसाय इन्कुवेशन केन्द्र सन्चालक परिषद्का अध्यक्ष समेत रहनुभएका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम सहित अर्को चरणमा ठोस छलफल गरी मन्त्रालयसँग सहकार्यको आधार निर्माण गरिने बताए ।

मन्त्रालयका निमित्त सचिव गिरीले प्रदेश सरकारले नयाँ युवा उद्यमीलाई प्रबर्द्धन गरी प्रदेशको समृद्धिमा टेवा पुर्याउन पहिलोपटक बजेट, कार्यक्रम ल्याएको भन्दै सोको कार्यान्वयनका लागि विश्वविद्यालयसँग जोडिएर आगामी दिनमा काम गर्न आजको छलफल सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्