बल्ल तल्ल पास गरियो बि ए एम ए सम्म
आशा थियो जागिर पाउँला चाँडो सकेसम्म
आइ लाग्यो अर्को काम सर्टिफिकेट बोक्ने
झोलाबोकी जागिर खोज्दै सेवा आयोग धाउने

च्यात्तिसके सर्टिफिकेट कपी गर्दा गर्दा
पैसा जति सकिसक्यो फाराम भर्दा भर्दा
जागिर खुल्छ एक दुई सिट भिडने कति कति
सुत्न खान पाउनु छैन पढने लेख्ने त्यति

बजार गयो किताब किन्यो लेखक थरी थरी
किनिल्यायो भएभरका झोला च्यात्ने गरी
कुन चाहिँ ठिक छ कुन छ बेठिक कसरी हो जान्ने
जुन हेरे नि उस्तै देख्छु कुन चाहिँ काम लाग्ने

एक एक गरि किताब छान्छु हुन्छन् भुईँभरि
जुन पढे नि बुझिँदैन घोकौँ कसो गरि
कलेजका किताबहरू बेकार भए अब
फेरि नयाँ किताब चाहिने कसो गरूँ अब

खुल्ने नखुल्ने केके भन्छन् अनेक हल्ला आउने
सोधपुछ गर्दा उत्तर पाइन्न तरक्क आँशु आउने
पाठ्यक्रम चेन्ज हुन्छन् ऐन नियम कति
नयाँ नयाँ अपडेट चहिने खोज्दा खोज्दै उति

अनलाइन अफलाइन फाराम खुल्छन् झन्झट कति कति
जता पनि लाइनै छ घाम तिर्खा कति
एउटा फाराम भरिसक्दा एक प्राण जान्छ
बेरोजगारी मनको तनाव सास्ती खेप्नु पर्छ

परिवारको सँधै कच कच कानै थोत्रा हुने
काम छोडेर पढन बसे घरमा जात्रा हुने
गोजी सधैँ रित्तो हुन्छ माग्नै लाज हुन्छ
रिचार्ज गर्ने पैसा हुन्न मोबाइल अफ हुन्छ

नेताजीलाई समात भन्ने कोही हाकिम साबलाई
पैसा खुवा भन्ने कोही खाजा पानी मलाई
सोर्स फोर्सले केही भएन बेकार भर परेँ
सल्लाह दिने कोही छैन दिक्दार भई रोएँ

काम गरौँ सीप छैन जागिर एउटै बाटो
बिहा गरौँ पैसा छैन जाने भयो सातो
सँगैका साथी आयोग पास अफिस बिजी उतै
आफू भने पढिएन खास खप्पिस सँधै गफै

जता गयो तेतै चर्चा उनकै छ हाई हाई
कोट पेन्ट निलो लगाउँछन् सेतो सर्ट र टाई
ल्यापटप र पेनड्राइभ कलम केही छैन निजी
बोल्ने समय हुन्न भन्छन् सँधै फोनमा बिजी

फिल्ड भन्छन् काज भन्छन् घुम्छन् देश विदेश
फोटा हाल्छन् फेसबुकमा पलपल निमेष निमेष
यस्तो देख्दा पिरो हुन्छ दुखी मन मेरो
उल्टै देखाई गाली गर्छन् केहो चाला तेरो

कस्तो दुख पाइयो हरे अब केही गर्छु
उमेर छ अलिकति अब मेहनत गर्छु
मोबाइल अफ गर्छु अनि टुप्पी बाँधी पढछु
हातमा नोटबुक कलम च्यापी खुरु खुरु पढछु

बरालिएर कतै पनि अब हिडने छैन
चोक गल्ली धारापानी गफ लाउने हैन
कान समाएँ चेतेँ अब एउटा पेसा गर्छु
दुई चार पैसा कमाउुँछु समय मिलाइ पढछु

जागिर नपाए नि केही छैन एउटा सीप भए
कित जागिर कित पेसा एउटा इलम भए
जीवन चल्ला घर चल्ला इज्जत पनि मिल्ला
के कम हुन्छु धन कमाएर चढछु कार चिल्ला