
कोहलपुर । बाँकेको कोहलपुरमा सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुका लागि क्षमता विकास तालिम सुरु भएको छ ।
कोहलपुर नगरपालिका शिक्षा तथा खेलकूद शाखाले आयोजना गरेको तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरे ।
तालिमलाई सिकाई र उपयोगीपूर्ण बनाउन उनले सुझाव समेत दिए । सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई एकैथलोमा राखेर तालिम गर्दा एक अर्काप्रति सिकाई आदानप्रदान हुने र यसले गुणस्तरीय शिक्षामा सकारात्मक प्रभाव पार्ने उने विश्वास लिए ।
वार्षिक परीक्षा सकिएको र आगामी योजनाका लागि नीति तथा कार्यक्रम बनाउने तयारी भइरहेका बेला आयोजना गरिएको तालिमले कोहलपुरमा शैक्षिक गुणस्तरमा आवश्यक सुझाव समेत प्राप्त हुने उनले विश्वास लिए । उनले परीक्षा प्रणाली व्यवस्थित गर्ने, शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने सवालमा भूमिका निर्वाह गर्न प्रधानाध्यापकहरुलाई आग्रह गरे ।
‘यहाँ सामुदायिक र संस्थागत गरी दुवै क्षेत्रका प्रधानाध्यापकहरु सहभागि हुनुभएको छ उनले भने–‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा एकआपसमा समान धारणा बनाउने र राम्रा अभ्यासहरु सबैले एक आपसमा कार्यान्वयन गर्ने वातावरण बन्नु पर्छ ।’ प्रधानाध्यापकहरुको भूमिका विद्यालय प्रशासन सुधारमा मात्रै सीमित नभएकाले विद्यालय वाहिरको वातावरण र समाज सुधारमा पनि केन्द्रीत हुनुपर्नेमा नगर प्रमुख आचार्यको जोड छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक सुधार, प्रशासनिक सुधारका सवालमा प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसमा आफुलाई अव्वल बनाउनु पर्नेमा जोड दिए । विद्यालय व्यवस्थित बनाउन जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।
यस्तै सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकले शैक्षिक विकास कोहलपुर नगरपालिकाको पहिलो प्राथमिकताको विषय रहेको बताए । उनले सबै क्षेत्रको विकास आवश्यक भएपनि शैक्षिक विकास सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे ।
त्यसैले कोहलपुर नगरपालिकाले शैक्षिक हवको परिकल्पना गर्दै आएको पनि उनको भनाइ छ । शुक्रबारदेखि सुरु भएको तालिममा विद्यालयको शैक्षिक पाठ्यक्रम, व्यवस्थापकीय क्षमता, प्रधानाध्यापकहरुको काम कर्तव्य र जिम्मेवारी लगायतका विषयमा विज्ञहरुबाट प्रशिक्षण प्रदान गरिने कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाकी शाखा अधिकृत शिला गौतमले जानकारी दिइन् ।
तालिममा शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, शिक्षा समन्वय इकाइ प्रमुख धनुसुदन चौलागाई, शिक्षा विज्ञ जीतबहादुर शाह, शिक्षा अधिकृत रविलाल मिजार, शिक्षकहरु ऋषि शर्माराज शर्मा र दिलिप ओलीले प्रशिक्षण दिनेछन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्