एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प




नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा ठुलो बयान दिएका छन् । उनले आइफोन निर्माता घरेलु कम्पनी एप्पलका सीईओ टिम कुकलाई भारतमा आइफोन उत्पादन बन्द गर्न आग्रह गरेका छन् । भारतलाई आफ्नो हितको आफैँ ख्याल राख्न दिन पनि उनले कूकलाई भनेका छन् । भारत र अमेरिका ट्यारिफबारे कुरा गरिरहेको समयमा ट्रम्पको यो बयान आएको हो ।

हालै मात्र एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता बढाउने विचार गरिरहेको खबर आएका थिए । ‘मैले हिजो टिम कुकसँग कुरा गरेँ । मैले उनलाई भनेँ, टिम तिमीसँग हामीले निकै धेरै राम्रो व्यवहार गरिरहेका छौँ । तिमी ५ अर्ब डलरको कम्पनी बनाउँदैछौ, तर अहिले म सुनिरहेको छु कि तिमी भारतमा कारखाना खोल्दैछौ रे । म चाहँदिन कि तिमी भारतमा आइफोन बनाऊ’ मिडियासँग कुरा गर्दै ट्रम्पले भने ।

‘यदि तिमी भारतलाई सहयोग गर्न चाहन्छौँ भने त्यो ठिकै छ । तर भारत संसारमा सबैभन्दा बढी कर लगाउने देशहरूमध्ये एक हो । त्यहाँ बेच्न गाह्रो छ । भारतले हामीलाई एउटा प्रस्ताव दिएको छ, जसमा उनीहरूले हाम्रा सामानहरूमा कुनै पनि कर नलगाउने वाचा गरेका छन्’ उनले भने ।

‘हामीले वर्षाैंसम्म तिमीले चीनमा बनाएको कारखानालाई सह्यौँ । अब म चाहँदिन कि तिमी भारतमा कारखाना खोल । भारतले आफ्नो ख्याल राख्न सक्छ । उनीहरूले धेरै राम्रो गरिरहेका छन् । हामी चाहन्छौँ कि तिमी आइफोन अमेरिकामै बनाऊ’ अझ अगाडि उनले भनेका छन् ।

प्रकाशित मिति : २०८२ जेठ २ गते बिहीबार