कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा प्रथम कोहलपुर खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख अतिथ्यितामा भएको कार्यक्रममा बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो ।
उपप्रमुख सुवेदीले कोहलपुरलाई खेलकुद हवको रुपमा विकास गर्न लागेको बताइन् । खेलकुदका क्षेत्रमा बजेटको व्यवस्थापन गरी खेलका माध्यमबाट कोहलपुरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान टेवा पुग्ने उनको भनाई थियो ।
कोहलपुरमा क्रिकेट, फुटबल, हरेक विद्यालयमा अब कराते र पुम्से समेत शिक्षक व्यवस्थापन गर्न लागेको उपप्रमुख सुवेदीको भनाई थियो ।
यस्तै बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले बाँकेको जिल्लाको कोहलपुर नगरपालिकाले खेलप्रति देखाएको चासो र चिन्ताले थप हौसला प्रदान गरेको बताए । स्थापनाकालदेखि हालसम्म कोहलपुर नगरपालिकाले निकै सहयोग गरिरहेको र आगामी दिनमा समेत आर्थिक र भौतिक रुपमा समेत सहयोग हुने विश्वास व्यक्त गरे ।
पालिकाले पुम्से, कराते खेललाई मेयर कपमा समेत समावेश गरेको प्रसंशा गर्दै आगामी दिनमा हरेक विद्यालयमा गराउनुपर्नेमा उनको भनाई थियो ।
हाल पहिलो पटक खुल्ला तेक्वान्दो प्रतियोगितामा ३ सय १४ जना खेलाडी सहभागि भएका छन् । बाँकेको राप्तीसोनारी, बैजनाथ र कोहलपुर नगरपालिकाका खेलाडीहरुलाई पहिलो पटक एकिकृत रुपमा कार्यक्रम सञ्चालन गरेको बताए ।
प्रतियोगितामा २० विधामा छन् जसमा तौल र उमेर अनुसार छन् । तौलमा २८, ३०, ३२, ३४, ३६, ३८, ४०, ४३ तौलका खेलाडी र अण्डर १२ र १६ खण्डर उमेर समूहको प्रतियोगितामा सहभागिता जनाएको अध्यक्ष लामिछानेले बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिका खेलकुद विकास समितिका संयोजक चक्र क्षेत्री चिमाला, तेक्वान्दो संघका केन्द्रिय सदस्य श्रीमान थापा मगर, रेडक्रसका सभापति सञ्जय पन्त्त, राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नेत्र थापा, तेक्वान्दो संघका संस्थापक सल्लाहाकार केसर आले मगर लगायत सहभागिता रहेको थियो । भोली (२७ गते) समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्