बाघको आतंकबाट मानव बचाउ भन्दै काँग्रेसको ध्यानाकर्षण

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ ले दैनिक जसो बाघको आक्रमणबाट स्थानीयबासीको ज्यान गएको र घाइते बनाएको भन्दै तत्काल बाघलाई नियन्त्रणमा लिएर उचित व्यवस्थापन गरी मानव र मानव बस्तीलाई सुरक्षित बनाउन माग गर्दै बाँकेका सिडिओलाई ध्यानाकर्षण गराएको छ ।

काँग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको नेतृत्वमा गएको काँग्रेसको एक टोलीले आइतबार उक्त ध्यानाकर्षण पत्र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई बुझाएको हो ।

बाँकेको राप्तीसोनारी राप्तीपारीको क्षेत्रमा केही समयदेखि नरभक्षी बाघले आतंक मच्चाईरहेको छ । बाघको आक्रमणबाट केही महिना यतामात्र राप्तीसोनारीमा चार र नरैनापुरमा एक गरी पाँच जनाले ज्यान गुमाइसकेका छनभने कैयौं स्थानीयलाई बाघले घाइते बनाएको छ ।

शनिबार मात्र राप्तीसोनारी ६ टेपरीका ६० बर्षिय एक स्थानीयलाई मारेको बाघले आइतबार ७ नम्बर वडाका २८ बर्षिय एक युवकलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ ।

काग्रेस बाँके क्षेत्र नम्बर १ ले बाघको आतंक रोकी तुरुन्त मानव र मानव बस्ती सुरक्षित गराउन माग गर्दै सिडिओ मार्फत सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको हो ।