गोरखापत्र राजनीतिक र सामाजिक परिवर्तनको साक्षी : प्रधानमन्त्री देउवा

सिराज खान कोहलपुर ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शताव्दी लामो यात्रा पार गरेको गोरखापत्र थुप्रै राजनीतिक र सामाजिक परिवर्तनको साक्षी रहेको बताउनुभएको छ । वर्तमान डिजिटल युगमा यसलाई थप सन्तुलित र व्यवसायिक वनाउन उहाँले सुझाव दिनुभयो ।

कोहलपुरमा गोरखापत्र संस्थानको प्रकाशन गृहको शनिबार भर्चुअल रुपमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । गोरखापत्र कसैको मुखपत्र नभएकाले यसलाई प्रतिस्पर्धात्मक अवस्थामा अझ जिम्मेवार, व्यवसायिक र विश्वसनीय बनाउन आवश्यक रहेको बताउनुभयो ।

कोहलपुरबाट गोरखापत्रको आफ्नै प्रेस सञ्चालनमा आएपछि गोरखापत्रको उपस्थिति र पहुँच लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पुग्नेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो । पश्चिम क्षेत्रको विकासका साथै सूचना सामग्री प्रकाशनमा गोरखापत्रले आफूलाई अगाडि बढाउनु पर्नेमा उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले गोरखापत्र नेपाली पत्रकारिता इतिहासको गौरवमय संस्था भएको र १२१ वर्षे गोरखापत्रको यात्रा मुलुकको जीवन इतिहासको आधारशीला पनि भएको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भर्चुअल सम्बाेधन गर्नुहुँदै गोरखापत्रले पश्चिम नेपालको कोहलपुरबाट प्रकाशन गर्न लागेको कामले सिङ्गो नेपाललाई एकताको सुत्रमा बाँध्ने अभियानलाई जोडेको बताउनुभयो ।

“गोरखापत्र भनेको राष्ट्रको गौरव हो” उहाँले भन्नुभयो, “सिङ्गो नेपालको तस्बिर झल्काउने गोरखापत्रले पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ ।” गोरखापत्रको विषयबस्तु प्रस्तुतीकरणले अहिले यो पत्रिका सरकारीभन्दा राज्यको अखबारको रुपमा पाठकसामु देखापरेको मन्त्री कार्कीले बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गोरखापत्रले आफ्नो सेवा र पहुँचलाई देशभर विस्तार गर्ने उद्देश्यमा नयाँ आयाम थपेकोमा बधाई दिनुभयो । विगतमा यसको पहुँच दूरदराजमा पुग्नलाई महिनौं लाग्ने अवस्थालाई अब मुक्ति मिल्ने उहाँको भनाई छ । कोहलपुरबाट गोरखापत्रको प्रकाशन आरम्भ भएपछि तीन प्रदेशका ३१ जिल्लामा गोरखापत्रको पहुँच पुग्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र एउटा पत्रिका मात्र नभई सभ्यता, संस्कृति र साहित्य बोकेको गौरव र इतिहास भएको बताउनुभयो । सिङ्गो युगको प्रतिनिधि गोरखापत्र भएको भन्दै उहाँले भन्नुभयो, “देशको राजनीतिक, सामाजिक क्षेत्रका हरेक मोडहरुको यो साक्षीको रुपमा उभिएको छ ।”

अहिलेको डिजिटल युग सुहाउँदो बनाउन गोरखापत्रलाई सुधार गरेर स्मार्ट गोरखापत्रको रुपमा विकास गर्ने अभियान थालिसकेको उहाँले बताउनुभयो । कोहलपुर नगरपालिका—३ मैटहवामा गोरखापत्रको प्रकाशन गृह रहेको छ ।

कोहलपुरस्थित कार्यालयमा आयाेजित कार्यक्रममा गोरखापत्रका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्रका प्रशासन विभागका निमित्ति निर्देशक ओम भुसाल, गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य राजु महत, कविता अधिकारी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहलगायतको उपस्थिति रहेको थियो ।

यसैवीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले कोहलपुरस्थित नेपाल टेलिभिजन कोहलपुर प्रशारण कार्यालयको पनि निरीक्षण गर्नुभएकाे थियाे । गोरखापत्रबाट